जनकपुरधाम, २१ असोज । नेपाल रेडक्रस सोसाइटी धनुष शाखामा हाल विभिन्न रक्त समूहका गरी १२१ युनिट रगत मौज्दात रहेको छ ।

रेडक्रस धनुषाले सार्वजनिक गरेको बुधबारको रक्त भण्डार विवरणअनुसार सबैभन्दा बढी ओ पोजेटिभ (O+) ६१ युनिट रगत मौज्दात छ ।

त्यस्तै, बी पोजेटिभ (B+) ३९ युनिट, ए पोजेटिभ (A+) ५ युनिट, एबी पोजेटिभ (AB+) ५ युनिट, ओ नेगेटिभ (O-) १ युनिट र एबी नेगेटिभ (AB-) २ युनिट मौज्दात रहेको छ । बी नेगेटिभ (B-) रक्त समूह भने मौज्दातमा छैन ।

रेडक्रसका अनुसार मौज्दातमध्ये ११३ युनिट होल ब्लड र ८ युनिट पीआरबीसी रहेको छ ।

नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाका सभापति पंकजकुमार महतोले नियमित रक्तदानले आकस्मिक अवस्था तथा उपचारका क्रममा आवश्यक पर्ने रगतको अभाव कम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

‘रगतको कुनै विकल्प छैन । दुर्घटना, प्रसूति, शल्यक्रिया तथा विभिन्न रोगका बिरामीका लागि समयमै रगत उपलब्ध गराउनु मानवीय सेवाको महत्वपूर्ण पक्ष हो । त्यसैले स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गरी जीवन बचाउने अभियानमा सहयोग गर्न आवश्यक छ,’ सभापति महतोले भने ।

उनले विशेषगरी मौज्दात कम रहेका रक्त समूहका रक्तदातालाई रक्तदानका लागि अघि आउन आग्रह गरे ।

रेडक्रसले पनि ‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने अभियानलाई निरन्तरता दिँदै आवश्यक परेमा शाखासँग सम्पर्क गर्न आग्रह गरेको छ ।

रेडक्रसका अनुसार एक युनिट रगतले आवश्यक अवस्थामा एकभन्दा बढी बिरामीको उपचारमा समेत महत्वपूर्ण सहयोग पुर्‍याउन सक्छ । त्यसैले रक्तदानलाई नियमित सामाजिक तथा मानवीय सेवाका रूपमा अघि बढाउनुपर्नेमा जोड दिइएको छ ।