महोत्तरी, २१ असोज । नेपालीहरूको महान् चाड बडादसैं, दीपावली, नेपाल संवत् तथा छठ पर्वलाई लक्षित गर्दै महोत्तरीमा ‘चाडपर्व लक्षित एकीकृत सुरक्षा योजना–२०८३’ लागू गरिएको छ ।

चाडपर्वका समयमा हुने बढ्दो आवतजावत, बजार गतिविधि तथा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार चाडपर्व अवधिमा नागरिकको जीउधनको सुरक्षा, शान्ति सुव्यवस्था तथा सामाजिक र साम्प्रदायिक सद्भाव कायम गर्नु सुरक्षा योजनाको प्रमुख उद्देश्य रहेको छ ।

खुला सीमा नाकाबाट हुने अवैध आवतजावत तथा चोरी पैठारी, पटका र हातहतियारको ओसारपसार नियन्त्रण, सवारी दुर्घटना तथा यात्रु ठगी रोकथाम र बजारमा कालोबजारी नियन्त्रणलाई समेत प्राथमिकतामा राखिएको छ ।

सुरक्षा योजनाअन्तर्गत नेपाल भारत खुला सीमा क्षेत्रमा चौबीसै घण्टा पिकेट, चेकपोइन्ट तथा संयुक्त गस्ती परिचालन गरिएको छ ।

पूर्वपश्चिम लोकमार्ग तथा जिल्लाका भित्री सडकमा आकस्मिक चेकिङ र मोबाइल गस्ती बढाइएको छ भने बजार, बैंक तथा वित्तीय संस्थाहरूमा पैदल गस्ती र सादा पोशाकका सुरक्षाकर्मी परिचालन गरिएको प्रशासनले जनाएको छ ।

चाडपर्वका समयमा यात्रुलाई सहजता प्रदान गर्न मुख्य बसपार्क तथा सीमा नाकामा सहायता कक्ष र हेल्थ डेस्कसमेत सञ्चालनमा ल्याइएको छ । दुर्गा पूजा, मेला तथा मूर्ति विसर्जनका कार्यक्रम पूर्वस्वीकृत रुट तथा समयतालिकाअनुसार सञ्चालन गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।

सम्भावित आगलागी तथा अन्य विपद् व्यवस्थापनका लागि स्थानीय तहका दमकल, एम्बुलेन्स तथा विपद् उद्धार टोलीलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ ।

एकीकृत सुरक्षा योजना कार्यान्वयनका लागि नेपाल प्रहरीका ७४७ जना तथा सशस्त्र प्रहरी बल नेपाल नं. ९ गणका ५८४ जना गरी १ हजार ३ सय ३१ जना सुरक्षाकर्मी जिल्लाका विभिन्न संवेदनशील क्षेत्रमा परिचालन गरिएको छ ।

यसैगरी, राष्ट्रिय अनुसन्धानले विशेष सूचना संकलन तथा सुरक्षा अवस्थाको निगरानी गरिरहेको छ ।

आवश्यकताअनुसार नेपाली सेनालाई समेत रणनीतिक प्रतिष्ठानको सुरक्षा, स्कर्टिङ तथा फ्ल्याग मार्चमा परिचालन गर्न सकिने गरी समन्वय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासनले चाडपर्वका नाममा विदेशबाट अवैध रूपमा पटका, भुइँचम्पा तथा आतिशबाजी ल्याउने वा बिक्री–वितरण नगर्न नागरिकलाई आग्रह गरेको छ ।

सडकमा डोरी टाँगेर जबर्जस्ती चन्दा उठाउने, जुवातास खेल्ने, मदिरा सेवन गरी अशान्ति फैलाउने तथा सामाजिक सञ्जालमार्फत साम्प्रदायिक विद्वेष फैलाउने गतिविधि नगर्नसमेत प्रशासनले अपिल गरेको छ ।

सवारी चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, क्षमताभन्दा बढी यात्रु नबोक्न र तोकिएभन्दा बढी भाडा नलिन प्रशासनले सचेत गराएको छ ।

जिल्ला प्रशासन कार्यालयले कुनै शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीको १००, विपद्का लागि १२३४, एम्बुलेन्सका लागि १०२ तथा दमकलका लागि १०१ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले चाडपर्वलाई सुरक्षित, मर्यादित र सौहार्दपूर्ण बनाउन सबै जिल्लावासीको सहयोग आवश्यक रहेको बताएका छन् ।