६ फरार प्रतिवादी पक्राउ
जनकपुरधाम, २० असोज । जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएर लामो समयदेखि फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मंगलबार प्रहरीका विभिन्न टोलीले खोजतलास तथा आवश्यक समन्वय गरी उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूलाई फैसला कार्यान्वयनका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये चोरी मुद्दाका दुई जना रहेका छन् । उनीहरूमध्ये एक जनालाई १० दिन कैद र १ हजार रुपैयाँ जरिवाना तथा अर्का व्यक्तिलाई ११ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
त्यस्तै, लागुऔषध मुद्दामा दोषी ठहरिएका एक जनालाई ५ महिना कैद र २ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
सवारी ज्यान मुद्दाका दुई जना पनि पक्राउ परेका छन् । उनीहरूमध्ये एक जनालाई १५ दिन कैद र २ हजार रुपैयाँ जरिवाना तथा अर्कालाई ४ महिना कैद र २ हजार रुपैयाँ जरिवाना सजाय तोकिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यसैगरी, चोरी मुद्दामै दोषी ठहरिएका अर्का एक जनालाई १ वर्ष कैद सजाय सुनाइएको थियो ।
अदालतबाट फैसला भएपछि सजाय कार्यान्वयन हुनुअघि नै फरार रहेका उनीहरूलाई प्रहरी टोलीले खोजतलास गरी पक्राउ गरेको हो ।
पक्राउ परेका सबैलाई आवश्यक कानुनी कारबाहीका लागि धनुषा जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




