जनकपुरधाम, २० असोज । धनुषा र सिरहा जोड्ने पूर्वपश्चिम हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा निर्माणाधीन पुल सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका अनुसार आगामी मंसिरदेखि पुल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

कार्यालय प्रमुख कृष्णकुमार महतोका अनुसार पुलको १० नम्बर पिलर निर्माण सम्पन्न भइसकेको छ भने सुपर ढलानको काम भइरहेको छ । फाउण्डेसनसहित तीनवटा पिलरको सबलीकरण तथा ढलानको काम पनि अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

विसं २०७८ असारमा सञ्चालनको तयारी भइरहेका बेला आएको बाढीले पुलका पिलरमा क्षति पुर्याएपछि लामो समयदेखि पुल अलपत्र अवस्थामा थियो । पुनःनिर्माणमा ढिलाइ हुँदा स्थानीयवासीलाई कमला नदी वारपार गर्न डुङ्गाको सहारा लिनुपर्ने बाध्यता थियो ।

पुल निर्माणमा देखिएका समस्या पहिचान गरी आवश्यक सहजीकरण गरेपछि कामले गति लिएको कार्यालय प्रमुख महतोले बताए । पुलको दुवैतर्फ पहुँच सडकमा माटो भर्ने काम सम्पन्न भइसकेकाले मंसिरदेखि आवागमन खुलाउने तयारी भइरहेको उनको भनाइ छ ।

कमला पुल निर्माणको ठेक्का २०६८ सालमा पप्पु लुम्बिनी जेभीले पाएको थियो । अहिले पनि सोही निर्माण कम्पनीले पुल पुनःनिर्माणको काम गरिरहेको छ ।

यसैबीच हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको ४०६ दशमलव ४३ किलोमिटर सडकखण्डमध्ये ३४७ दशमलव ६३ किलोमिटर सडक कालोपत्र भइसकेको छ । यस खण्डमा पर्ने २४ वटा पुलसमेत निर्माण सम्पन्न भइसकेका छन् ।

कार्यालयका सूचना अधिकारी रञ्जितकुमार रायका अनुसार सिरहाको ५७ दशमलव ५२ किलोमिटरमध्ये २९ दशमलव ९८ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ ।

धनुषामा ८९ दशमलव ५२ किलोमिटरमध्ये ७४ दशमलव ५८ किलोमिटर र महोत्तरीमा ९३ दशमलव ५ किलोमिटरमध्ये ९१ दशमलव ५६ किलोमिटर सडक निर्माण भइसकेको छ ।

त्यस्तै, सर्लाहीको १६६ दशमलव २ किलोमिटरमध्ये १५१ दशमलव ५१ किलोमिटर सडक निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०८२/८३ भित्रै हुलाकी सडक निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि सडक क्षेत्रभित्रका घरटहरा हटाउन ढिलाइ तथा विभिन्न स्थानमा देखिएको जग्गा विवादका कारण केही काम प्रभावित भएको कार्यालय प्रमुख महतोले बताए ।

हुलाकी सडक तथा पुल निर्माण सम्पन्न भएपछि मधेशका ग्रामीण क्षेत्रको आवागमन सहज हुनुका साथै व्यापार, कृषि तथा आर्थिक गतिविधिमा समेत वृद्धि हुने विश्वास गरिएको छ ।