महोत्तरी, २० असोज । नेपाली सेना र सञ्चारमाध्यमबीचको समन्वय, सहकार्य तथा आपसी समझदारी थप सुदृढ बनाउने उद्देश्यले मधेश प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ सुरु भएको छ ।

श्री मध्यपूर्वी पृतना हेडक्वार्टर बर्दिबासको आयोजनामा सुरु भएको कार्यक्रममा मधेश प्रदेशका विभिन्न सञ्चारमाध्यममा कार्यरत २१ जना सञ्चारकर्मी सहभागी छन् । कार्यक्रमको शुभारम्भ मध्यपूर्वी पृतनाका पृतनापति भुवन केसीले गरेका हुन् ।

अभिमुखीकरणमा सहभागी पत्रकारलाई नेपाली सेनाको संगठनात्मक संरचना, जिम्मेवारी, भूमिका तथा विभिन्न गतिविधिबारे जानकारी गराइनेछ ।

सेनासम्बन्धी समाचार संकलन तथा सम्प्रेषणका क्रममा आवश्यक तथ्य, सूचना र विषयवस्तुलाई सहज तथा जिम्मेवार ढंगले प्रस्तुत गर्न कार्यक्रम केन्द्रित रहने जनाइएको छ ।

कार्यक्रम संयोजक प्रमुख सेनानी प्रतिभा थापाका अनुसार नेपाली सेना र पत्रकारबीचको समन्वय तथा आपसी समझदारीलाई थप प्रभावकारी बनाउन अभिमुखीकरण आयोजना गरिएको हो ।

चारदिने कार्यक्रममा सेनाको कार्यक्षेत्र र जिम्मेवारीसँगै विपद् व्यवस्थापन तथा प्रतिक्रिया, समसामयिक विषय र संकटका समयमा सञ्चारमाध्यमको भूमिकालगायत विषयमा प्रस्तुतीकरण तथा अन्तरक्रिया गरिनेछ ।

अभिमुखीकरणले सुरक्षा निकायका गतिविधि र जिम्मेवारीबारे सञ्चारकर्मीलाई प्रत्यक्ष जानकारी गराउनुका साथै विपद् तथा संकटका समयमा तथ्यमा आधारित र जिम्मेवार समाचार सम्प्रेषणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।