रामानन्द चोकमा अचेत अवस्थामा भेटिएका पुरुषको मृत्यु
जनकपुरधाम, २० असोज । जनकपुरधाम उपमहानगरपालिका–८ स्थित रामानन्द चोकमा अचेत अवस्थामा भेटिएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार बुधबार बिहान करिब ११ः४० बजे रामानन्द चोकमा करिब ३५/३६ वर्षीय एक पुरुष अचेत अवस्थामा लडिरहेको अवस्थामा फेला परेका थिए ।
घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याएको थियो ।
अस्पतालमा चिकित्सकले जाँच गर्दा ती पुरुषलाई दिउँसो करिब १२ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतकको हालसम्म नाम, थर र वतन खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
शव प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ भने मृतकको पहिचान तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




