जनकपुरधाम, २० असोज । नेपाल रेडक्रस सोसाइटी धनुषा शाखा जनकपुरधामको रक्त भण्डारमा विभिन्न रक्त समूहका गरी हाल १४३ युनिट रगत मौज्दात रहेको छ ।

रेडक्रस धनुषाका अनुसार मौज्दातमध्ये ‘ए पोजेटिभ’, ‘बी पोजेटिभ’, ‘ओ पोजेटिभ’, ‘एबी पोजेटिभ’ तथा ऋणात्मक रक्त समूहका विभिन्न युनिट रहेका छन् ।

विवरणअनुसार ‘ए पोजेटिभ’ १०, ‘बी पोजेटिभ’ ४५, ‘ओ पोजेटिभ’ ७० र ‘एबी पोजेटिभ’ ४ युनिट रहेको छ । त्यस्तै, ‘बी नेगेटिभ’ १, ‘ओ नेगेटिभ’ १ र ‘एबी नेगेटिभ’ २ युनिट मौज्दात छ ।

रेडक्रस धनुषा शाखाका सभापति पंकजकुमार महतोले रगतको आवश्यकता जुनसुकै बेला पर्न सक्ने भएकाले नियमित रक्तदानमार्फत रक्त भण्डारलाई पर्याप्त अवस्थामा राख्नुपर्ने बताए ।

उनले रक्तदानलाई मानवीय सेवाको महत्वपूर्ण कार्यका रूपमा लिन आग्रह गर्दै स्वस्थ व्यक्तिहरूलाई स्वेच्छिक रक्तदानमा सहभागी हुन अपिल गरे ।

सभापति महतोले भने, ‘रक्तदानले कुनै व्यक्तिको जीवन बचाउने मात्र नभई विपद्, दुर्घटना तथा आकस्मिक उपचारका बेला बिरामी र परिवारलाई ठूलो राहत प्रदान गर्छ । त्यसैले रक्तदानलाई नियमित सामाजिक दायित्वका रूपमा अघि बढाउन आवश्यक छ ।’

रेडक्रसले आकस्मिक अवस्थामा आवश्यक पर्ने बिरामीका लागि रगत उपलब्ध गराउँदै आएको जनाएको छ ।

रगतको आवश्यकता पर्ने व्यक्ति वा आफन्तले नेपाल रेडक्रस सोसाइटी धनुषा जिल्ला शाखाको रक्तसञ्चार केन्द्रमा सम्पर्क गर्न सक्ने जनाइएको छ ।

रेडक्रसले ‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने अभियानलाई निरन्तरता दिँदै स्वस्थ व्यक्तिलाई रक्तदान गर्न आग्रह गरेको छ ।

‘मानवता हाम्रो सर्वोत्तम धर्म हो’ भन्ने भावनासहित नियमित रक्तदानले रगत अभाव न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने शाखाले जनाएको छ ।