धनुषामा जथाभावी पार्किङ हटाइँदै
जनकपुरधाम, १९ असोज । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै धनुषामा सडकलाई व्यवस्थित र सवारी आवागमनलाई सहज बनाउने उद्देश्यले अनावश्यक तथा जथाभावी पार्किङ नियन्त्रण अभियान तीव्र पारिएको छ ।
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयको निर्देशन तथा समन्वयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जिल्लाका मुख्य सडक तथा व्यस्त क्षेत्रमा अनुगमन गरी सडकमा जथाभावी पार्किङ गरिएका सवारीसाधन हटाउने र चालकलाई सचेत गराउने अभियान सञ्चालन गरेको हो ।
अभियानअन्तर्गत जिरोमाइल तथा आसपासका मुख्य सडक, बजार क्षेत्र र बढी सवारी चाप हुने स्थानमा ट्राफिक प्रहरीले नियमित अनुगमन गरिरहेको छ । सडकको छेउछाउ तथा आवागमनमा अवरोध हुने गरी पार्किङ गरिएका सवारीसाधन हटाउँदै तोकिएको स्थानमा मात्र पार्किङ गर्न चालकलाई आग्रह गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालले चाडपर्वका समयमा सवारीसाधन तथा सर्वसाधारणको चाप बढ्ने भएकाले सडक व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताए ।
उनले जथाभावी पार्किङका कारण सडक साँघुरो हुनुका साथै सवारी आवागमनमा अवरोध र दुर्घटनाको जोखिमसमेत बढ्ने भएकाले चालक स्वयं जिम्मेवार बन्नुपर्ने बताए ।
‘चाडपर्वका बेला सडकमा सवारीको चाप स्वाभाविक रूपमा बढ्छ । त्यसैले जथाभावी पार्किङ नगरी तोकिएको पार्किङ स्थलको प्रयोग गर्न र ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सबैलाई आग्रह गरेका छौँ,’ प्रहरी निरीक्षक दाहालले भने ।

ट्राफिक प्रहरीले चाडपर्वको अवधिमा सडक अनुशासन कायम गराउन नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ । साथै, सडकलाई सबैको साझा सम्पत्ति सम्झेर सुरक्षित, व्यवस्थित र अनुशासित यातायात व्यवस्थापनमा सहयोग गर्न आम नागरिक तथा सवारी चालकलाई आग्रह गरिएको छ ।
‘सडक सुरक्षित बनाऔँ, अनुशासित यात्रा गरौँ’ भन्ने सन्देशसहित सञ्चालन गरिएको अभियानले चाडपर्वका समयमा हुन सक्ने सवारी जाम तथा दुर्घटनाको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


