जानकी आँखा अस्पताल सञ्चालन समितिको संयोजकमा राय मनोनीत
जनकपुरधाम, १९ असोज । नेपाल रेडक्रस सोसाइटी जानकी आँखा अस्पताल सञ्चालन समितिको संयोजकमा रघुविर राय (कुर्मी) मनोनीत भएका छन् ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिको असोज ७ गते बसेको बैठकको निर्णयअनुसार रायलाई चार वर्षे कार्यकालका लागि अस्पताल सञ्चालन समितिको संयोजकमा मनोनयन गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी आँखा अस्पताल सञ्चालन नियमावली, २०८१ को पहिलो संशोधन २०८३ सहितको नियम ८.१ को (क) र (ग) मा रहेको व्यवस्थाबमोजिम रायलाई संयोजकको जिम्मेवारी दिइएको केन्द्रीय कार्यालयले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय काठमाडौंले सोमबार पत्रमार्फत रायलाई मनोनयनसम्बन्धी जानकारी गराएको हो ।
पत्रमा उनले नेपाल रेडक्रस सोसाइटीको प्रचलित विधान तथा आँखा अस्पताल सञ्चालन नियमावलीअनुसार आफ्नो जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–६ स्थित नेपाल रेडक्रस सोसाइटी जानकी आँखा अस्पतालको सञ्चालन, व्यवस्थापन तथा सेवाप्रवाहलाई थप प्रभावकारी बनाउन नयाँ सञ्चालन समितिको नेतृत्व महत्वपूर्ण मानिएको छ ।


