रौतहट, १९ असोज । भारतीय ठेकेदार सम्पर्कविहीन भएपछि रौतहटको एक इँटाभट्टामा अलपत्र परेका ४२ जना भारतीय नागरिकको प्रहरीले उद्धार गरी स्वदेश फर्काएको छ ।

रौतहटको गुजरा नगरपालिका–५ लक्ष्मीपुरस्थित मदिना इँटाभट्टामा काम गर्न भारतको उत्तर प्रदेश मुरादाबादबाट आएका ४२ जना भारतीय नागरिकलाई प्रहरीले उद्धार गरेको हो । उद्धार गरिएकामा १२ पुरुष, ११ महिला, १० बालक र ९ बालिका रहेका छन् ।

भारतीय ठेकेदारमार्फत इँटाभट्टामा काम गर्न आएका उनीहरूलाई ठेकेदार मोहम्मद नासिरले अलपत्र छाडेर सम्पर्कविहीन भएपछि उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए ।

इँटाभट्टा सञ्चालक मोहम्मद मुजामिलका अनुसार कामदारको रासन तथा अन्य खर्च व्यवस्थापन गर्ने भन्दै ठेकेदार नासिरले चार दिनअघि आफूसँग ६ लाख भारतीय रुपैयाँ लिएका थिए । रकम लिएपछि नासिर सम्पर्कविहीन भएको र कामदारहरू भट्टामै अलपत्र परेको उनले बताए ।

आगामी असारसम्म इँटाभट्टामा काम गर्ने गरी आश्रित परिवारसहित कामदारहरूलाई भारतबाट ल्याइएको थियो । ठेकेदार एकाएक सम्पर्कविहीन भएपछि उनीहरूलाई खानपान तथा बसोबासमा समस्या भएपछि भट्टा सञ्चालकले प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरीले अलपत्र परेका सबै कामदारको उद्धार गरी आज भारतीय सीमा सुरक्षा बल (एसएसबी) को जिम्मा लगाएको जनाएको छ ।

प्रहरी नायब उपरीक्षक गौतमले बाहिरबाट कामदार ल्याएर अलपत्र पार्ने भारतीय ठेकेदार नासिरको खोजी भइरहेको बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।