जनकपुरधाम–४ लाई ‘स्वच्छ, हरित र डिजिटल वडा’ बनाउने मिश्रको योजना
जनकपुरधाम, १९ असोज । जनकपुरधाम उपमहानगरपालिका–४ लाई सफा, सुन्दर, हरियाली, उज्यालो र साक्षर वडाका रूपमा विकास गर्ने लक्ष्यसहित कौशल मिश्र ‘राष्ट्रवादी’ले आफ्नो विकासको प्रारम्भिक खाका सार्वजनिक गरेका छन् ।
मिश्रले विकासलाई चुनावी नाराका रूपमा मात्र नभई जनताको सहभागिता, सुझाव र सहकार्यमा आधारित योजनाका रूपमा अघि बढाउने बताएका हुन् ।
उनले ‘आफ्नो क्षेत्र, आफ्नो विकास, सबैको सहभागिता, समृद्ध वडा हाम्रो प्रतिबद्धता’ भन्ने अवधारणासहित वडा विकासको योजना अघि सारेका छन् ।
उनको प्रस्तावित योजनामा वडाका मुख्य सडकको मर्मत तथा स्तरोन्नति, नाला तथा ढल व्यवस्थापन, फुटपाथ विस्तार र बजार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ । प्रमुख चोकमा सूचना पाटी तथा वडा साइनबोर्ड राख्ने योजना पनि अघि सारिएको छ ।
त्यस्तै, नियमित फोहोर संकलन तथा वर्गीकरण, खुला क्षेत्रको संरक्षण, अव्यवस्थित झाडी तथा संरचना हटाउने र ‘वेस्ट–फ्री वडा’ अभियान सञ्चालन गर्ने प्रस्ताव गरिएको छ ।
प्रत्येक टोल तथा चोकमा वृक्षारोपण, हरित क्षेत्र तथा पार्क निर्माण र घरघरमा हरियाली प्रवर्द्धन गर्दै प्लास्टिकमुक्त वातावरण निर्माण गर्ने योजना मिश्रले अघि सारेका छन् ।
शिक्षा तथा युवा विकासतर्फ सामुदायिक विद्यालयको सुधार, विद्यार्थीका लागि छात्रवृत्ति, पुस्तकालय तथा अध्ययन केन्द्र स्थापना, नेतृत्व विकास, सीपमूलक तालिम र रोजगारीमुखी कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव छ ।
जनकपुरधाम–४ को धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानलाई संरक्षण गर्दै रामायण भवन तथा पुरातात्त्विक सम्पदाको संरक्षण, धार्मिक तथा सांस्कृतिक कार्यक्रमको प्रवर्द्धन र स्थानीय कला, हस्तकला तथा मिथिला पर्यटनको विकासमा जोड दिने योजना पनि सार्वजनिक गरिएको छ ।
स्वास्थ्य तथा सामाजिक सुरक्षातर्फ वडास्तरीय स्वास्थ्य शिविर, निःशुल्क औषधि सेवा, ज्येष्ठ नागरिक सम्मान तथा अपाङ्गता भएका व्यक्ति, एकल महिला र विपन्न परिवारका लागि विशेष सहयोगको व्यवस्था गर्ने प्रस्ताव गरिएको छ । महिला तथा बालबालिकाको सुरक्षा र सामाजिक सद्भावलाई समेत प्राथमिकतामा राखिएको छ ।
मिश्रले वडाको प्रशासनिक सेवा प्रवाहलाई पारदर्शी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै हरेक निर्णयमा जनसहभागिता, डिजिटल सूचना प्रणाली, सेवाग्राहीका लागि हेल्प डेस्क तथा भ्रष्टाचाररहित र जवाफदेही प्रशासनको अवधारणा अघि सारे ।
युवालाई लक्षित गर्दै स्थानीय उत्पादन तथा उद्यमशीलताको प्रवर्द्धन, साना तथा घरेलु व्यवसायलाई सहजीकरण, सीप विकास र रोजगारीका अवसर सिर्जना गर्ने तथा स्थानीय बजारलाई व्यवस्थित बनाउने योजना पनि उनको खाकामा समेटिएको छ ।
त्यसैगरी, वडा कार्यालयबाटै डिजिटल सेवा केन्द्र सञ्चालन, अनलाइन आवेदन तथा सूचना प्रणाली विकास र नागरिकका गुनासो समाधानका लागि हेल्प डेस्क स्थापना गरी वडा नं. ४ लाई क्रमशः ‘स्मार्ट वडा’का रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।
मिश्रले ‘समृद्ध वडा, समृद्ध परिवार, समृद्ध जनकपुरधाम’ भन्ने अवधारणालाई अघि सार्दै वडावासीको सुझावलाई विकास योजनाको आधार बनाउने बताएका छन् ।
उनले वडा नं. ४ का विभिन्न टोलमा रहेका समस्या, स्थानीयको प्राथमिकता र वडाको भावी विकासका विषयमा सुझाव दिन सम्पूर्ण वडावासीसँग आग्रह गरेका छन् ।


