शिक्षकद्वारा छात्रामाथि निर्घात कुटपिट गरेको आरोप, कानको जाली फुटेको अभिभावकको दाबी
जनकपुरधाम, २० असोज । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित एजुकेशन पोइन्ट एकेडेमीमा कक्षा १० मा अध्ययनरत एक छात्रामाथि शिक्षकले निर्घात कुटपिट गरेको आरोप लागेको छ ।
छात्राका बुवाका अनुसार विद्यालयका शिक्षक ईश्वरले कुनै गल्ती नगरेकी छोरीलाई गालामा चार–पाँच पटकसम्म झापड हानेका थिए ।
शिक्षकको कुटपिटबाट छात्राको कानको जालीसमेत फुटेको अभिभावकको दाबी छ ।
अभिभावकले छात्राको कुनै गल्ती नभएको अवस्थामा शिक्षकले व्यक्तिगत आक्रोश वा मानसिक तनाव छात्रामाथि पोख्दै कुटपिट गरेको आरोप लगाएका छन् ।
घटनापछि छात्रामा शारीरिक तथा मानसिक असर परेको भन्दै अभिभावकले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।
विद्यालय परिसरमा विद्यार्थीमाथि भएको भनिएको कुटपिटको घटनाबारे विद्यालय प्रशासनको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी छ ।
अभिभावकले बालबालिकामाथि हुने कुनै पनि प्रकारको शारीरिक तथा मानसिक हिंसाको निष्पक्ष छानबिन गरी आरोप पुष्टि भए दोषी शिक्षकलाई कानुनअनुसार कारबाही गर्न माग गरेका छन् ।


