६ फरार प्रतिवादी पक्राउ
जनकपुरधाम, १९ असोज । धनुषा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा प्रहरी टोलीले खोजतलास तथा आवश्यक समन्वय गरी उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये तीन जना सवारी ज्यान, एक जना लागुऔषध, एक जना सवारी अंगभंग र एक जना वन पैदावरसम्बन्धी मुद्दाका प्रतिवादी रहेका छन् ।
अदालतको फैसलाअनुसार सवारी ज्यान मुद्दामा एक जनालाई ४ महिना कैद र २ हजार रुपैयाँ जरिवाना, अर्का एक जनालाई २१ दिन कैद र २ हजार रुपैयाँ जरिवाना तथा अर्का एक जनालाई २ महिना कैद र २ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
त्यस्तै, लागुऔषध मुद्दामा ३ महिना कैद र ३ हजार रुपैयाँ जरिवाना, सवारी अंगभंग मुद्दामा १० हजार रुपैयाँ तथा वन पैदावर मुद्दामा ५ हजार रुपैयाँ जरिवाना सजाय तोकिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले फरार प्रतिवादी पक्राउ गर्ने अभियानअन्तर्गत उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।


