महेन्द्रनगरमा साप्ताहिक दुधमती महाआरती शुभारम्भ
जनकपुरधाम, १९ असोज । रामायणकालीन धार्मिक तथा सांस्कृतिक महत्व बोकेको दुधमती नदीको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरस्थित अर्जनवामा साप्ताहिक दुधमती महाआरती शुभारम्भ गरिएको छ ।

मधेश प्रदेश सभाका सभामुख रामअशिष यादवले जलपूजन गर्दै एक विशेष समारोहबीच महाआरतीको शुभारम्भ गरेका हुन् ।
महाआरतीको शुभारम्भपछि सम्बोधन गर्दै सभामुख यादवले प्रकृति र संस्कृतिको संरक्षणलाई मुख्य उद्देश्य बनाएर दुधमती महाआरतीको थालनी गरिएको बताए ।

उनले नदी, जलस्रोत तथा धार्मिक सांस्कृतिक सम्पदाको संरक्षणका लागि राज्य र समाजबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
प्रकृति र संस्कृतिको संरक्षण तथा संवर्द्धनमा स्थानीय समुदायको सक्रिय सहभागिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत उनले व्यक्त गरे ।
छाता इनिसिएटिभका अध्यक्ष अमरेन्द्रकुमार यादवको संयोजकत्वमा सुरु गरिएको साप्ताहिक महाआरतीको पहिलो दिनको कार्यक्रममा संघीय सांसद राजकिशोर महतो, बृहत्तर जनकपुरधाम क्षेत्र विकास परिषदका अध्यक्ष कौशलेन्द्र झा, महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, वडाध्यक्ष जीबछ मण्डल, सेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष अधिवक्ता राजकुमार महासेठ, वृक्षमानव सुरेश शर्मा, दुधमती गरिमा संरक्षण समितिका अध्यक्ष सुदीप मण्डललगायतको उपस्थिति थियो ।

दुधमती महाआरती अब प्रत्येक शनिबार साँझ ६ बजे सञ्चालन हुनेछ ।
दुधमती नदीको उद्गमस्थल मानिएको अर्जनवामा सुरु गरिएको महाआरतीले नदीको धार्मिक महत्वसँगै यसको संरक्षण र सरसफाइप्रति स्थानीयस्तरमा जनचेतना अभिवृद्धि गर्ने विश्वास गरिएको छ ।
महाआरतीको पहिलो दिन स्थानीय बासिन्दाको उल्लेखनीय तथा उत्साहजनक सहभागिता रहेको थियो ।
धार्मिक आस्था, सांस्कृतिक पहिचान र प्राकृतिक सम्पदा संरक्षणलाई जोड्दै सुरु गरिएको महाआरतीलाई निरन्तरता दिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




