धनुषामा २० वर्षीया महिला घरमै मृत फेला, हत्याको आशंकापछि श्रीमान् प्रहरी नियन्त्रणमा
जनकपुरधाम, १९ असोज । धनुषामा एक २० वर्षीया विवाहित महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् ।
जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरकी प्रियंका दास आइतबार साँझ आफ्नै सुत्ने कोठामा मृत फेला परेकी हुन् ।
परिवारका अनुसार प्रियंकालाई सिलिङ पंखामा सलको पासो लगाएको अवस्थामा देखिएपछि उनका श्रीमान् विनोद दासले पासो खोली शवलाई ओछ्यानमा राखेका थिए ।
घटनाको जानकारी पाएपछि प्रहरी चौकी कपिलेश्वरको टोली घटनास्थल पुगेको थियो ।
घटनाको प्रकृति शंकास्पद देखिएपछि प्रहरीले घटनास्थलको मुचुल्का उठाउने तथा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।
घटनापछि स्थानीयवासीले प्रियंकाको मृत्यु आत्महत्या नभई हत्या भएको आशंका गर्दै प्रहरी प्रशासनसमक्ष छानबिनको माग गरेका छन् ।
उनीहरूले घटनास्थलको निरीक्षण तथा सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै विरोधसमेत गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको छ ।
अनुसन्धानका लागि मृतकका श्रीमान् विनोदलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले शव परीक्षणलगायत अनुसन्धानबाट मृत्युको वास्तविक कारण खुल्ने जनाएको छ ।
घटना हत्या, आत्महत्या वा अन्य कारणबाट भएको भन्ने विषयमा अनुसन्धानपछि मात्रै निष्कर्षमा पुग्न सकिने प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




