जनकपुरधाममा १५२ युनिट रगत मौज्दात, रक्तदान गर्न सभापति महतोको आग्रह
जनकपुरधाम, १९ असोज । नेपाल रेडक्रस सोसाइटी धनुषा शाखा ब्लड बैंक जनकपुरधाममा विभिन्न रक्त समूह गरी कुल १५२ युनिट रगत मौज्दात रहेको छ ।
रेडक्रस धनुषा शाखाले सार्वजनिक गरेको विवरणअनुसार ‘ए’ पोजेटिभ १०, ‘बी’ पोजेटिभ ४९, ‘ओ’ पोजेटिभ ७२, ‘एबी’ पोजेटिभ ५, ‘ए नेगेटिभ’ १ र ‘एबी नेगेटिभ’ २ युनिट रगत मौज्दात रहेको छ ।
त्यस्तै, ‘बी पोजेटिभ’को पीआरबीसी ७, ‘ओ पोजेटिभ’को पीआरबीसी ४ र ‘एबी पोजेटिभ’को पीआरबीसी २ युनिट उपलब्ध रहेको जनाइएको छ ।
रेडक्रस धनुषा शाखाका सभापति पंकजकुमार महतोले आकस्मिक उपचार तथा शल्यक्रियाका क्रममा रगतको आवश्यकता पर्ने भएकाले नियमित रक्तदानलाई निरन्तरता दिनुपर्ने बताए ।
उनले रक्तको मौज्दात रहेको अवस्थामा पनि सबै रक्त समूहको समान उपलब्धता नहुने भएकाले विशेषगरी दुर्लभ रक्त समूहका लागि रक्तदाता सधैँ सम्पर्कमा रहनुपर्ने आवश्यकता औँल्याए ।
‘रक्तदान सहयोग मात्र नभई कसैको जीवन जोगाउने मानवीय जिम्मेवारी पनि हो,’ सभापति महतोले भने ।
रेडक्रसले रक्तदानलाई नियमित अभियानका रूपमा अघि बढाउन र स्वस्थ व्यक्तिहरूलाई स्वेच्छिक रक्तदानमा सहभागी हुन आग्रह गरेको छ ।
दुर्घटना, प्रसूति, शल्यक्रिया तथा विभिन्न रोगका कारण रगत आवश्यक पर्ने बिरामीका लागि रक्तदाताले दिएको एक युनिट रगत महत्वपूर्ण हुने रेडक्रसको भनाइ छ ।
रेडक्रस धनुषा शाखाले ‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने सन्देशसहित आवश्यकताअनुसार रक्त सेवा लिन तथा रक्तदान गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




