जानकी मन्दिर अगाडिको फाउन्टेन वर्षौंदेखि जीर्ण, मर्मतमा बेवास्ता
जनकपुरधाम, १८ असोज । जनकपुरधामको प्रमुख पर्यटकीय तथा धार्मिकस्थल जानकी मन्दिरको अगाडिको प्राङ्गणमा रहेको फाउन्टेन वर्षौँदेखि बिग्रिएको अवस्थामा रहँदा यसको संरक्षण र मर्मतसम्भारप्रति सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।
जानकी मन्दिर दर्शन तथा अवलोकनका लागि दैनिक ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरे पनि मन्दिरको मुख्य प्राङ्गणमै रहेको फाउन्टेन लामो समयदेखि प्रयोगविहीन र जीर्ण अवस्थामा रहेको छ ।
पर्यटकीय क्षेत्रको सौन्दर्य बढाउने उद्देश्यले निर्माण गरिएको संरचना वर्षौँसम्म मर्मत नहुँदा अहिले आफैँमा बेवास्ता गरेको जस्तो देखिएको स्थानीयको गुनासो छ ।
स्थानीय युवा श्याम चौधरीका अनुसार फाउन्टेन बिग्रिएको पाँच वर्षभन्दा बढी भइसक्दा पनि त्यसको मर्मतमा सम्बन्धित तीनै तहका सरकारको पर्याप्त ध्यान पुग्न सकेको छैन ।
उनले पर्यटकीय दृष्टिले अत्यन्त महत्वपूर्ण स्थानमा रहेको संरचनाको सामान्य मर्मतसम्भारसमेत हुन नसक्नु दुःखद भएको बताए ।
‘जनकपुरधामको पहिचान बोकेको जानकी मन्दिर अगाडि वर्षौँदेखि एउटा फाउन्टेन टुटेर अलपत्र अवस्थामा छ । यसलाई मर्मत गर्न सरकारसँग बजेट नभएको हो कि इच्छाशक्ति नभएको हो?’ भन्ने प्रश्न चौधरीको छ ।
उनका अनुसार जानकी मन्दिरमा आउने पर्यटकले मन्दिरको धार्मिक तथा ऐतिहासिक महत्वसँगै वरपरको वातावरण र संरचनाको अवस्थालाई पनि नियाल्ने गर्छन् ।
यस्तो अवस्थामा मुख्य प्रवेश क्षेत्रमै वर्षौँदेखि बिग्रिएको संरचना देखिँदा जनकपुरधामको पर्यटन व्यवस्थापनप्रति नकारात्मक सन्देश जाने उनको भनाइ छ ।
‘दिनहुँ हजारौँ मानिस आउने ठाउँमा वर्षौँदेखि एउटा फाउन्टेन मर्मत हुन नसक्नु सामान्य विषय होइन,’ चौधरीले भने, ‘पर्यटन प्रवर्द्धनका ठूला कुरा गर्ने सरकारले पर्यटकीयस्थलको सामान्य सौन्दर्य र संरचना संरक्षणमा पनि ध्यान दिनुपर्छ ।’
जानकी मन्दिरलाई जनकपुरधामको धार्मिक पर्यटनको प्रमुख केन्द्रका रूपमा लिइन्छ । यहाँको पूर्वाधार, सरसफाइ, सौन्दर्यीकरण र संरक्षणले समग्र जनकपुरधामको पर्यटन छविमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले वर्षौँदेखि बिग्रिएको संरचनाको मर्मतमा सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने स्थानीयको माग छ ।
वर्षौँदेखि उस्तै अवस्थामा रहेको यो संरचनाले भने ‘पर्यटन विकासको दाबी र धरातलीय अवस्थाबीचको अन्तर’ प्रस्ट देखाइरहेको श्यामको भनाई छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




