धनुषामा ११९ युनिट रगत भण्डारण, ‘ओ’ पोजेटिभको मौज्दात बढी
जनकपुरधाम, १८ असोज । नेपाल रेडक्रस सोसाइटी धनुषा शाखामा हाल ११९ युनिट रगत भण्डारण रहेको छ ।
शाखाले सार्वजनिक गरेको असोज १८ गते आइतबारको रक्त भण्डार विवरणअनुसार विभिन्न रक्त समूहको गरी ११९ युनिट रगत मौज्दात रहेको हो ।
रेडक्रसका अनुसार हाल ‘ए’ पोजेटिभ समूहको २ युनिट, ‘बी’ पोजेटिभको ३७ युनिट, ‘ओ’ पोजेटिभको ६१ युनिट, ‘एबी’ पोजेटिभको १ युनिट, ‘ओ’ नेगेटिभको १ युनिट र ‘एबी’ नेगेटिभको २ युनिट रगत भण्डारणमा रहेको छ ।
भण्डारणमध्ये ‘ओ’ पोजेटिभ रक्त समूहको मौज्दात सबैभन्दा बढी रहेको छ ।
पछिल्लो समय विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामी तथा आकस्मिक अवस्थाका बिरामीलाई आवश्यक पर्ने रगतको माग बढिरहेकाले नियमित रक्तदान आवश्यक रहेको रेडक्रसले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाका सभापति पंकजकुमार महतोले रक्तदानलाई नियमित सामाजिक जिम्मेवारीका रूपमा अघि बढाउनुपर्ने बताए ।
उनले रगत कृत्रिम रूपमा उत्पादन गर्न नसकिने भएकाले बिरामीको जीवन बचाउन स्वस्थ व्यक्तिले समय समयमा रक्तदान गर्नुपर्नेमा जोड दिए ।
सभापति महतोका अनुसार आपत्कालीन अवस्थामा आवश्यक पर्ने रगतको अभाव हुन नदिन रक्तदान अभियानलाई निरन्तरता दिनु आवश्यक छ ।
उनले युवालगायत सबै स्वस्थ नागरिकलाई रक्तदानमा सहभागी हुन आग्रह गर्दै एक युनिट रगतले पनि कसैको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
रेडक्रस धनुषाले आवश्यक परेका बिरामीका लागि रक्त सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।
शाखाले रक्तदान गर्न इच्छुक तथा स्वस्थ व्यक्तिहरूलाई नियमित रूपमा रक्तदान गर्नसमेत आह्वान गरेको छ ।
‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने सन्देशसहित रेडक्रसले मानवीय सेवाका लागि रक्तदानलाई निरन्तरता दिन आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




