रौतहट, १७ असोज । रौतहटको सदरमुकाम गौरसँग सीमा जोडिएको भारतको बिहारस्थित सीतामढी जिल्लाको बैरगनिया प्रखण्डमा धान खेतमा बिछ्याइएको खुला विद्युतीय तारबाट करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।

बैरगनिया प्रखण्डअन्तर्गत अख्ता पश्चिमी चकवा पञ्चायत–५ को तकिया टोलमा शनिबार बिहान भएको घटनामा तीन स्थानीयवासीको घटनास्थलमै मृत्यु भएको हो । करेन्ट लागेर अन्य तीन जना गम्भीर घाइते भएका छन् ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । उनीहरूको अवस्था गम्भीर रहेको स्थानीय स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रारम्भिक विवरणअनुसार धान खेतमा जंगली जनावरबाट बाली जोगाउने उद्देश्यले खुला विद्युतीय तार बिछ्याइएको हुन सक्ने आशंका गरिएको छ । सोही तारमा करेन्ट प्रवाह भइरहेको अवस्थामा खेततर्फ पुगेका स्थानीयवासी त्यसको सम्पर्कमा आएपछि दुर्घटना भएको बताइएको छ ।

घटनास्थलमा दुई वटा जंगली बँदेलसमेत मृत अवस्थामा फेला परेका छन् । यसले पनि खेतमा जंगली जनावर नियन्त्रणका लागि विद्युतीय तार प्रयोग गरिएको हुन सक्ने प्रारम्भिक आशंकालाई बल पुगेको बताइएको छ ।

भैंसी खोज्दै खेततर्फ पुगेका स्थानीयवासीलाई खेतमा विद्युतीय तार बिछ्याइएकोबारे जानकारी नभएका कारण दुर्घटना भएको प्रारम्भिक विवरणमा उल्लेख छ ।

घटनाबारे स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । खेतमा खुला रूपमा विद्युतीय तार बिछ्याइएको भए त्यसबाट अन्य व्यक्ति तथा पशुचौपायासमेत जोखिममा पर्न सक्ने भएकाले घटनापछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ ।