जिमुतवाहनको पूजा गर्दै सन्तानको दीर्घायुको कामना
जनकपुरधाम, १७ असोज । मिथिलाञ्चलका महिलाहरूको महत्वपूर्ण पर्व जितियाको दोस्रो दिन शनिबार विभिन्न धार्मिक विधि पूरा गरी मनाइएको छ ।
सन्तानको दीर्घायु, सुख समृद्धि तथा परिवारको कल्याणको कामना गर्दै व्रतालु महिलाहरूले दिनभर धार्मिक अनुष्ठान र पूजा आराधना गरेका छन् ।
शुक्रबारदेखि विधिवत् व्रत सुरु गरेका महिलाहरूले शनिबार बिहानै स्नान गरी चोखो भएर सूर्यपुत्र भगवान् जिमुतवाहनको पूजा आराधना गरेका हुन् । पूजाका क्रममा व्रतालुहरूले दहीच्यूरा, मिष्ठान्न, फलफूल, धूप, दीप तथा नैवेद्य अर्पण गर्दै सन्तानको दीर्घायुको कामना गरेका थिए ।
जनकपुरधामस्थित गंगासागरमा शनिबार दिउँसो करिब १ बजे व्रतालु महिलाहरूको उल्लेख्य सहभागिता देखिएको थियो । गंगासागरमा स्नान गरेपछि उनीहरूले सामूहिक रूपमा जितियाको धार्मिक कथा श्रवण गरेका थिए ।
कथा श्रवणका क्रममा महिलाहरूले भगवान् जिमुतवाहनप्रति श्रद्धा व्यक्त गर्दै आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख समृद्धि तथा परिवारको कल्याणका लागि प्रार्थना गरेका थिए ।
व्रतालु अञ्जनी कुमारी साहका अनुसार जितियाको व्रत आइतबार बिहान पारणा गरेपछि विधिवत् रूपमा सम्पन्न हुनेछ । पारणापछि जितियाको विसर्जन गर्ने धार्मिक परम्परा रहेको उनले बताइन् ।
जितिया पर्वमा महिलाले सन्तानको दीर्घायु र परिवारको सुख शान्तिको कामना गर्दै कठोर उपवास बस्ने परम्परा छ । परम्पराअनुसार व्रतालु महिलाहरूले करिब ३६ घण्टासम्म निराहार तथा निर्जला व्रत बस्ने गर्दछन् ।
मिथिलाको धार्मिक तथा सांस्कृतिक जीवनसँग गहिरो रूपमा जोडिएको जितिया पर्वमा महिलाहरूले श्रद्धा र निष्ठाका साथ भगवान् जिमुतवाहनको पूजा तथा धार्मिक कथा श्रवण गर्ने गरेका छन् ।
पुस्तौँदेखि चलिआएको यो पर्वले मिथिलाको मौलिक धार्मिक आस्था, संस्कृति र परम्परालाई निरन्तरता दिँदै आएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




