जनकपुरधाम, १६ असोज । यातायात व्यवस्था कार्यालय जनकपुरधामले नयाँ अनलाइन प्रणालीमार्फत आवेदन तथा राजस्व भुक्तानी गरेका सेवाग्राहीको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी लिखित तथा प्रयोगात्मक परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

कार्यालयका अनुसार ‘ए/के’ तथा अन्य वर्गको लिखित परीक्षा असोज १९ गते सोमबार यातायात व्यवस्था कार्यालय मुजेलियामा बिहान ६ः३० देखि ९ बजेसम्म सञ्चालन हुनेछ ।

त्यस्तै, बी, सी, सी–१ तथा अन्य वर्गको लिखित परीक्षा असोज २१ गते बुधबार सोही स्थानमा बिहान ६ः३० देखि ९ बजेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ ।

ई वर्गको परीक्षा असोज २३ गते शुक्रबार बिहान ७ बजेदेखि ८ः३० बजेसम्म याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय जनकपुरधाममा हुनेछ ।

एफ/जी वर्गको परीक्षा भने सोही दिन बिहान ६ः३० देखि ९ः३० बजेसम्म मुजेलिया–१४ जनकपुरधाममा सञ्चालन हुने जनाइएको छ ।

कार्यालय प्रमुख वासुदेव मल्लका अनुसार परीक्षार्थीले आफ्नो प्रवेशपत्रमा उल्लेख भएको मिति र कार्यालयले सार्वजनिक गरेको परीक्षा तालिका अनिवार्य रूपमा मिलाउनुपर्नेछ ।

निर्धारित मितिभन्दा फरक दिन परीक्षा दिन आएमा वा तोकिएको समयपछि उपस्थित भएमा परीक्षा छुट्न सक्ने भएकाले परीक्षार्थीलाई समयमै उपस्थित हुन आग्रह गरिएको उनले बताए ।

प्रयोगात्मक परीक्षातर्फ ‘ए/के’ वर्गको ट्रायल असोज २० गते मंगलबार बिहान ६ः३० देखि ८ः३० बजेसम्म तथा अन्य वर्गको ट्रायल बिहान ८ः३० देखि ९ः३० बजेसम्म मुजेलिया–१४ मा सञ्चालन हुनेछ ।

त्यस्तै, बी, सी र सी–१ वर्गको ट्रायल असोज २२ गते बिहीबार बिहान ६ः३० देखि ९ बजेसम्म हुनेछ ।

अन्य वर्गको ट्रायल सोही दिन बिहान ८ देखि ९ बजेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ ।

परीक्षामा सहभागी हुनेले प्रवेशपत्र, सक्कल नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ ।

वर्ग थपका लागि आवेदन दिएका परीक्षार्थीले सम्बन्धित सवारी चालक अनुमतिपत्रसमेत ल्याउनुपर्ने कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख मल्लले परीक्षा भवनमा झोला, मोबाइल फोन, क्यामेरा तथा अन्य विद्युतीय उपकरण लैजान निषेध गरिएको जानकारी दिए ।

निर्धारित समयपछि आउने परीक्षार्थीको परीक्षा छुटेमा त्यसको जिम्मेवारी स्वयं परीक्षार्थी हुने कार्यालयले जनाएको छ ।