मिथिलाको मौलिक लोकपर्व जितिया सुरु
जनकपुरधाम, १६ असोज । मिथिलाञ्चलको प्रमुख लोकपर्व जितिया आजदेखि सुरु भएको छ ।
सन्तानको दीर्घायु, सुस्वास्थ्य तथा सुख समृद्धिको कामना गर्दै महिलाहरूले कठोर व्रत बस्ने यो पर्व मिथिला तथा थारु समुदायमा विशेष श्रद्धाका साथ मनाउने गरिन्छ ।
आश्विन कृष्ण पक्षको सप्तमी तिथिबाट सुरु हुने जितिया पर्व तीन दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गरी मनाइन्छ । पर्वको पहिलो दिन व्रतालु महिलाहरू स्नान गरी शुद्ध भएर ‘नहाय–खाय’ विधि पूरा गर्छन् ।

‘नहाय–खाय’का दिन च्यूरा, दहीलगायतका परिकारसँगै स्थानीय परम्पराअनुसार माछा र मरुवा अर्थात् कोदोसमेत खाने चलन रहेको छ । यसपछि व्रतालु महिलाहरू अष्टमीका दिन कठोर उपवास बस्ने गर्छन् ।
जितियाको मुख्य दिन अष्टमीमा निराहार तथा कतिपय स्थानमा निर्जला व्रत बस्ने परम्परा छ । व्रतका क्रममा थुकसमेत निल्न नहुने धार्मिक मान्यता रहेको स्थानीयहरू बताउँछन् । यस्तो कठोर उपवासका कारण जितियालाई मिथिलाञ्चलमा कठिन व्रतमध्ये एकका रूपमा लिइन्छ ।

जितियाको व्रत अष्टमी तिथिको उदयकाललाई आधार मानेर बस्ने परम्परा रहेको छ । यदि अष्टमी दुई दिन परेमा उदयकालमा अष्टमी परेको दोस्रो दिन व्रत बस्ने चलन रहेको बताइन्छ । त्यसपछि नवमीका दिन धार्मिक विधिअनुसार पारण गरी व्रत समापन गर्ने गरिन्छ ।
जितिया पर्वमा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख शान्ति र समृद्धिको कामना गर्दै भगवान् जिमूतवाहनको पूजा तथा व्रत गर्ने धार्मिक परम्परा रहेको छ । पर्वसँग जोडिएका विभिन्न लोककथा, धार्मिक मान्यता र सांस्कृतिक अभ्यासले मिथिलाको मौलिक पहिचानलाई समेत निरन्तरता दिँदै आएको छ ।

मिथिला क्षेत्रका गाउँदेखि सहरसम्म जितियाको तयारीसँगै पर्वको चहलपहल बढेको छ ।
घरघरमा आवश्यक पूजासामग्रीको तयारी तथा धार्मिक विधिका लागि आवश्यक सामग्री जुटाउने क्रम सुरु भएको छ ।

तीन दिनसम्म मनाइने यो पर्वले मिथिलाञ्चलमा धार्मिक आस्था, मातृत्वको त्याग र सांस्कृतिक परम्परालाई एकसाथ जोड्ने गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




