कमला संरक्षणको सन्देश लिएर जनकपुरधामदेखि देहरादुनसम्म साइकल यात्रा
जनकपुरधाम, १६ असोज । कमला नदी तथा यसको जलाधार क्षेत्रको संरक्षणबारे जनचेतना फैलाउने उद्देश्यले जनकपुरधामदेखि भारतको देहरादुनसम्म ५२ दिने अन्तर्राष्ट्रिय साइकल यात्रा सुरु भएको छ ।
कमला जलाधार संरक्षण अभियान ‘कमला बचाउ अभियान’को आयोजनामा जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणबाट साइकल यात्रा सुरु गरिएको हो । यात्राको उद्घाटन मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले गरे ।
साइकल यात्राको नेतृत्व भारतका अभियानी अनिल प्रकाश जोशीले गर्नेछन् । उद्घाटन कार्यक्रममा प्रदेश प्रमुख लाभले जोशीले आफ्नो उमेरको यो चरणमा समेत पर्यावरण तथा नदी संरक्षणको अभियानको नेतृत्व गर्नु प्रशंसनीय रहेको बताए ।

जनकपुरधामबाट सुरु भएको यात्रा भारतका विभिन्न राज्य हुँदै देहरादुन पुगेर सम्पन्न हुनेछ । यात्राका क्रममा बिहार, झारखण्ड, राजस्थान र उत्तर प्रदेश हुँदै देहरादुन पुग्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
कमला नदी र यसको जलाधार क्षेत्रको संरक्षणसँगै नदी तथा जलस्रोतको महत्वबारे नेपाल र भारतका विभिन्न स्थानमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्य यात्राको रहेको बताइएको छ ।
आयोजकका अनुसार कमला नदीसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएका समुदायलाई नदी संरक्षणमा सहभागी गराउने तथा जल, पर्यावरण र सांस्कृतिक सम्बन्धका विषयमा दुई देशबीच जनस्तरमा संवाद र सचेतना बढाउने अभियानको उद्देश्य रहेको छ ।
कमला नदी नेपाल र भारत दुवै देशका विभिन्न भू–भाग हुँदै बग्ने भएकाले यसको संरक्षणका लागि सीमापार सहकार्य आवश्यक रहेको सन्देशसमेत साइकल यात्रामार्फत प्रवाह गरिने आयोजकको भनाइ छ ।

५२ दिनसम्म सञ्चालन हुने यात्राले कमला नदीको संरक्षण, जलाधार क्षेत्रको दिगो व्यवस्थापन तथा वातावरण संरक्षणको विषयलाई नेपाल–भारतबीचको साझा सरोकारका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




