९ फरार प्रतिवादी पक्राउ
जनकपुरधाम, १५ असोज । धनुषा प्रहरीले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका ९ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार विभिन्न मुद्दामा धनुषा जिल्ला अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका उनीहरूलाई खोजतलासका क्रममा पक्राउ गरिएको हो ।
पक्राउ परेका प्रतिवादीलाई आवश्यक कानुनी कारबाहीका लागि धनुषा जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये एक जनालाई सवारी ज्यान मुद्दामा ६ महिना कैद र २ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । त्यस्तै, सवारी अंगभंग मुद्दाका एक जनालाई २ वर्ष ११ महिना १८ दिन कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
यसैगरी, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । उनीहरूमध्ये एक जनालाई ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना तथा अर्का प्रतिवादीलाई १० वर्ष कैद सजाय तोकिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, लागूऔषध मुद्दामा २ महिना कैद, चोरी मुद्दामा ४ महिना कैद र ३ हजार रुपैयाँ जरिवाना तोकिएका एक–एक जना पनि पक्राउ परेका छन् ।
कुटपिट मुद्दामा सजाय तोकिएका तीन जना पनि पक्राउ परेका छन् । उनीहरूलाई कैद सजाय नभए पनि प्रत्येकलाई ३ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा प्रहरी टोलीले विभिन्न स्थानमा खोजतलास गरी फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




