मधेशमा समानता र समावेशीकरणको बहस
जनकपुरधाम, १५ असोज । मधेश प्रदेशमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका क्षेत्रमा देखिएका अवसर, चुनौती र सुधारका उपायबारे समीक्षात्मक अन्तरक्रिया आयोजना गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशको आयोजनामा भएको कार्यक्रममा श्रम तथा यातायातमन्त्री . शारदा थापाको अध्यक्षता तथा मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रदेशमा लैङ्गिक समानता कायम गर्न तथा महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति लगायत पछाडि पारिएका समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने विषयमा छलफल गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले राज्यका सबै तह र संरचनामा समान सहभागिता र अवसर सुनिश्चित नभएसम्म समावेशी विकासको लक्ष्य पूरा हुन नसक्ने बताए । उनले नीति तथा कार्यक्रममा लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राख्दै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।
मुख्यमन्त्री यादवले सामाजिक विभेद र असमानता अन्त्य गर्न सरकारसँगै राजनीतिक दल, नागरिक समाज तथा सम्बन्धित सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।

त्यस्तै, श्रममन्त्री थापाले लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई व्यवहारमै कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्यान् । उनले अवसरको समान वितरण, निर्णय प्रक्रियामा महिलाको सहभागिता तथा पछाडि पारिएका समुदायको पहुँच बढाउन सरकारका कार्यक्रमहरू थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।
अन्तरक्रियामा प्रदेशमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको वर्तमान अवस्था, उपलब्ध अवसर, कार्यान्वयनका चुनौती तथा आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे सरोकारवालाबीच छलफल गरिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




