जनकपुरधाम, १५ असोज । नेपालीहरूको महान् पर्व दशैँ, दीपावली तथा छठ नजिकिँदै गर्दा धनुषाको नगराइन नगरपालिकामा सरसफाइ, सडक व्यवस्थापन तथा सार्वजनिक पूर्वाधार सुधार गर्न माग गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी नगराइन नगरपालिका–७ का सभापति रामचन्द्र शर्माले नगरप्रमुख विनय यादव र वडा नं. ७ का वडाध्यक्ष सूर्यनारायण साहलाई ज्ञापनपत्र बुझाउँदै चाडपर्वअघि नगर क्षेत्रको सरसफाइ तथा सडक व्यवस्थापनमा विशेष ध्यान दिन माग गरेका हुन् ।

ज्ञापनपत्रमार्फत नगर क्षेत्रका सडक तथा बाटोघाटोमा रहेका अतिक्रमण र अवरोध हटाउन, आवश्यक स्थानमा डोजर प्रयोग गरी सडक तथा सार्वजनिक स्थलको सरसफाइ गर्न र सडकका पोलमा आवश्यक बत्ती जडान गर्न माग गरिएको छ ।

त्यस्तै, मुख्य सडक, चोक तथा बजार क्षेत्रमा पर्याप्त डस्टबिनको व्यवस्था गर्न र चाडपर्वका बेला नगर क्षेत्रलाई स्वच्छ, सुरक्षित तथा व्यवस्थित बनाउन स्थानीय तहको ध्यानाकर्षण गराइएको छ ।

ज्ञापनपत्र बुझाउँदै शर्माले दशैँ, दीपावली र छठजस्ता पर्वलाई व्यवस्थित रूपमा मनाउन नागरिकलाई सहज आवतजावतको वातावरण आवश्यक रहेको बताए ।

चाडपर्व उत्सव मनाउने अवसर मात्र नभई स्वच्छ, सुरक्षित र व्यवस्थित समाज निर्माण गर्ने अवसरसमेत भएकाले स्थानीय तहले सरसफाइ, सडक व्यवस्थापन र सार्वजनिक पूर्वाधारमा प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

नगरवासीका समस्या र आवश्यकतालाई सम्बन्धित निकायसमक्ष निरन्तर पु¥याउँदै समाधानका लागि आवाज उठाउने अभियान जारी राख्ने शर्माले बताए ।