जनकपुरधाम, १४ असोज । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले जनकपुरधामस्थित जानकी आँखा अस्पतालको अल्पकालीन व्यवस्थापनको जिम्मेवारी धनुषा जिल्ला तदर्थ समितिलाई दिएको छ ।

रेडक्रस सोसाइटीका महामन्त्री ऋषिरमण खनालले धनुषा जिल्ला तदर्थ समितिका सभापति पंकज कुमार महतोलाई पत्र पठाउँदै अर्को व्यवस्था नभएसम्मका लागि अस्पतालको व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी प्रदान गरिएको जानकारी गराएका हुन् ।

केन्द्रीय कार्यालयले बुधबार पठाएको पत्रमा जानकी आँखा अस्पतालको व्यवस्थापन तथा सञ्चालनलाई व्यवस्थित र प्रभावकारी रूपमा निरन्तरता दिन छोटो अवधिको अन्तरिम व्यवस्थाका रूपमा जिल्ला तदर्थ समितिलाई जिम्मेवारी दिइएको उल्लेख छ ।

पत्रमा अस्पतालको व्यवस्थापन तथा आवश्यक समन्वयका कार्यहरू सञ्चालन गर्दा नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयसँग प्रत्यक्ष समन्वय र आवश्यक परामर्श गर्न निर्देशन दिइएको छ ।

अस्पतालको सेवा प्रवाहमा कुनै अवरोध आउन नदिई नियमित सेवा सञ्चालन गर्न तथा रेडक्रस सोसाइटीको नीति, नियम र प्रचलित व्यवस्थाअनुसार कार्यसम्पादन गर्नसमेत केन्द्रीय कार्यालयले आग्रह गरेको छ ।

त्यस्तै, अस्पतालसँग सम्बन्धित महत्वपूर्ण निर्णय तथा संवेदनशील विषयमा केन्द्रीय कार्यालयसँग आवश्यक समन्वय गरेर मात्रै निर्णय लिन पत्रमार्फत निर्देशन दिइएको छ ।

केन्द्रीय कार्यालयले धनुषा जिल्ला तदर्थ समितिलाई दिइएको जिम्मेवारी अर्को व्यवस्था नभएसम्मका लागि मात्र लागू हुने अस्थायी व्यवस्था भएको जनाएको छ ।

जानकी आँखा अस्पताल नेपाल रेडक्रस सोसाइटीअन्तर्गत सञ्चालन हुँदै आएको आँखा उपचारसम्बन्धी महत्वपूर्ण स्वास्थ्य संस्था हो ।

अस्पतालको व्यवस्थापनमा पछिल्लो समय देखिएका विषयलाई सम्बोधन गर्दै सेवा प्रवाहलाई निरन्तरता दिन केन्द्रीय कार्यालयले तत्कालका लागि जिल्ला तदर्थ समितिलाई जिम्मेवारी दिएको छ ।