जनकपुरधाम, १४ असोज । Street Child को आर्थिक सहयोगमा जानकी महिला जागरण समाजले जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न वडामा २५ वर्षमुनिका विवाहित महिला तथा युवतीलाई सीपमूलक तालिमसँगै स्टार्टअप सहयोग उपलब्ध गराउँदै आएको छ ।

समाजले विगत दुई वर्षमा जनकपुरधाम उपमहानगरपालिकाका वडा नम्बर १, ७, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४ र २५ मा गरी ३५ वटा सिकाइ केन्द्र सञ्चालन गरेको जनाएको छ । ती सिकाइ केन्द्रमार्फत ९ सय १७ जना २५ वर्षमुनिका विवाहित महिला तथा युवतीलाई विभिन्न प्रकारका सीपमूलक तालिम प्रदान गरिएको हो ।

तालिमसँगै सहभागीलाई सीपलाई व्यवहारमा उतार्दै आयआर्जनमा जोडिन सहज होस् भन्ने उद्देश्यले संस्थाले स्टार्टअप सपोर्टसमेत उपलब्ध गराएको जनाएको छ । हालसम्म कुल १ करोड ३३ लाख ४५ हजार ५ सय रुपैयाँ बराबरको स्टार्टअप सहयोग प्रदान गरिएको संस्थाको भनाइ छ ।

सहयोग प्राप्त गर्ने महिलालाई उनीहरूको रुचि, क्षमता र स्थानीय बजारको सम्भावनाका आधारमा विभिन्न आयमूलक गतिविधिमा जोड्ने प्रयास गरिएको जनाइएको छ ।

सीप सिकेर पनि लगानीको अभावमा आर्थिक गतिविधिमा प्रवेश गर्न नसक्ने महिलालाई प्रारम्भिक सहयोग उपलब्ध गराउँदा उनीहरूलाई स्वरोजगार बन्न सहयोग पुगेको संस्थाको दाबी छ ।

जानकी महिला जागरण समाजकी अध्यक्ष मन्दाकिनी कर्णले तालिम मात्र दिएर महिलाको आर्थिक अवस्था परिवर्तन नहुने भएकाले सीपसँगै उद्यम सुरु गर्न आवश्यक प्रारम्भिक सहयोगलाई कार्यक्रमको महत्वपूर्ण पक्ष बनाइएको बताइन् ।

उनका अनुसार विवाहपछि धेरै युवतीको शिक्षा, सीप विकास र रोजगारीको अवसरमा निरन्तरता नहुने अवस्था देखिएकाले उनीहरूलाई आफ्नै खुट्टामा उभिन सक्ने बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

‘महिलालाई सीप सिकाउनु मात्र पर्याप्त हुँदैन । सिकेको सीपलाई आम्दानीमा परिणत गर्न आवश्यक साधन र प्रारम्भिक लगानी पनि चाहिन्छ,’ अध्यक्ष कर्णले भनिन्, ‘त्यसैले हामीले तालिमसँगै स्टार्टअप सपोर्टलाई जोड दिएका छौँ । यसको उद्देश्य महिलालाई अरूमा निर्भर नभई आफ्नै आम्दानीको स्रोत निर्माण गर्न सक्षम बनाउनु हो ।’

उनले कार्यक्रमबाट लाभान्वित महिलाले सानो स्तरबाट भए पनि आफ्नै व्यवसाय तथा आयआर्जनका गतिविधि सुरु गर्न थालेको बताइन् । महिलाको आर्थिक सशक्तीकरणले परिवारको निर्णय प्रक्रियामा उनीहरूको भूमिका बढाउनुका साथै बालबालिकाको शिक्षा, स्वास्थ्य र परिवारको समग्र आर्थिक अवस्थामा समेत सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।

अध्यक्ष कर्णले सीपमूलक तालिमलाई बजारको मागसँग जोड्दै आगामी दिनमा सहभागी महिलालाई उत्पादन, बजारीकरण, वित्तीय व्यवस्थापन र व्यवसाय विस्तारसम्बन्धी थप सहयोग आवश्यक रहेको बताइन् ।

जनकपुरधामका ग्रामीण तथा सीमान्तकृत बस्तीमा रहेका युवतीलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रमले उनीहरूलाई घरपरिवारमा सीमित नराखी आर्थिक गतिविधिमा सहभागी गराउने वातावरण निर्माण गर्न खोजेको संस्थाले जनाएको छ ।