७ फरार प्रतिवादी पक्राउ
जनकपुरधाम, १३ असोज । धनुषा प्रहरीले विभिन्न अपराधिक मुद्दामा अदालतबाट कैद तथा जरिवानाको फैसला भई फरार रहेका सात जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
धनुषा जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धनुषा तथा मातहतका प्रहरी कार्यालयबाट परिचालित टोलीले खोजतलास गरी पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूविरुद्ध संगठित अपराध, लागुऔषध र चेक अनादरसम्बन्धी मुद्दामा अदालतबाट फैसला भएको थियो । फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएका उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि धनुषा जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पक्राउ परेका सात जनामध्ये दुई जनालाई संगठित अपराध मुद्दामा जनही एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको थियो । उनीहरू दुवै फैसला कार्यान्वयनबाट जोगिँदै फरार अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, लागुऔषधसम्बन्धी मुद्दामा एक जनालाई एक वर्ष तीन महिना कैद तथा २० हजार रुपैयाँ जरिवाना तोकिएको थियो । सोही प्रकृतिको अर्को मुद्दामा एक जनालाई दुई महिना कैद र अर्का एक जनालाई एक महिना कैद सजाय तोकिएको थियो ।
लागुऔषधकै अर्को मुद्दामा पनि एक महिनाको कैद सजाय तोकिएको व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी चेक अनादर मुद्दामा अदालतबाट एक हजार रुपैयाँ जरिवाना तोकिएका एक जना फरार प्रतिवादी पनि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अदालतबाट सजाय तोकिएपछि फरार रहेका व्यक्तिहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइएको छ ।
अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रहरी टोलीले विभिन्न स्थानमा खोजतलास तथा आवश्यक समन्वय गर्दै आएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सातै जनालाई अदालतको फैसला कार्यान्वयन तथा आवश्यक कानुनी प्रक्रियाका लागि धनुषा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएर फरार रहेका व्यक्तिहरूलाई खोजी गरी पक्राउ गर्ने कार्य जारी रहेको जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




