महोत्तरी, १३ असोज । जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लामा दर्ता भएका संस्था तथा गैरसरकारी संघसंस्थाको अभिलेख अद्यावधिक गर्न प्रक्रिया अघि बढाएको छ ।

कार्यालयले दुई वर्षभन्दा बढी समयदेखि संस्था नवीकरणका लागि सम्पर्कमा नआएका संस्थालाई दुई महिनाभित्र नवीकरण तथा अभिलेख अद्यावधिक गर्न सूचना जारी गरेको हो ।

कार्यालयका अनुसार महोत्तरीमा हालसम्म संस्था दर्ता ऐन, २०३४ तथा संस्था दर्ता नियमावली, २०३४ बमोजिम २ हजार ३२ वटा संस्था दर्ता भएका छन् । तर, तीमध्ये नियमित रूपमा नवीकरण हुने संस्थाको संख्या अत्यन्त न्यून रहेको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले पटकपटक आएको बाढी तथा कार्यालय भवन स्थानान्तरणका क्रममा कतिपय संस्थाका विधानसहितका सक्कल मिसिल नष्ट वा हराएको समेत जनाएको छ । त्यसकारण दर्ता भएका संस्थाको वास्तविक अवस्था पहिचान गरी अभिलेखलाई व्यवस्थित र अद्यावधिक गर्नुपर्ने आवश्यकता देखिएको कार्यालयको भनाइ छ ।

प्रशासनले संस्था स्थापना भए पनि लामो समयसम्म नवीकरणका लागि सम्पर्कमा नआउँदा संस्थाले आफ्नो उद्देश्यअनुसार काम गरे–नगरेको विषयमा समेत अन्योलता रहने जनाएको छ । साथै नवीकरण दस्तुरबापत सरकारलाई प्राप्त हुने राजस्वसमेत समयमा संकलन हुन नसकेको कार्यालयले उल्लेख गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले तोकिएको अवधिभित्र नवीकरण तथा अभिलेख अद्यावधिकका लागि सम्पर्कमा नआउने संस्थामाथि प्रचलित कानुनबमोजिम खारेजीलगायतका कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ ।

नवीकरणका लागि संस्थाले दर्ता प्रमाणपत्र तथा विधान, साधारण सभाको माइन्युट, नवीकरण गर्ने कार्यसमितिको निर्णयसहितको निवेदन, सम्बन्धित आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, स्थायी लेखा नम्बर (प्यान) सहितको कर चुक्ता प्रमाणपत्र, विगतमा सम्पन्न कामको प्रगति विवरण तथा आगामी कार्ययोजना र सम्बन्धित स्थानीय तहको नवीकरण सिफारिस पेस गर्नुपर्नेछ ।

कार्यालयले अभिलेख अद्यावधिक तथा नवीकरणको प्रक्रिया पूरा नभएसम्म नयाँ संस्था दर्ता गरी प्रमाणपत्र जारी गर्ने कार्यसमेत रोकिएको जनाएको छ । अद्यावधिक तथा नवीकरणको काम सम्पन्न भएपछि भने नियमानुसार नयाँ संस्था दर्ताको प्रक्रिया पुनः सञ्चालन गरिने कार्यालयले स्पष्ट पारेको छ ।