जनकपुरधाम, ११ असोज । मधेश प्रदेश सरकारले अति विशिष्ट व्यक्तिको प्रयोगका लागि साढे ३ करोड रुपैयाँ मूल्यको चारपांग्रे सवारीसाधन खरिद प्रक्रिया अघि बढाएको छ ।

श्रम तथा यातायात मन्त्रालयले ३ करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको सवारीसाधन खरिदका लागि गत भदौ २५ गते बोलपत्र आह्वान गरेको हो ।

चालु आर्थिक वर्षको बजेटमै अति विशिष्ट व्यक्तिका लागि सवारीसाधन खरिद गर्न उक्त रकम विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारको आर्थिक स्रोतमा दबाब बढिरहेका बेला विभिन्न शीर्षकको बजेट कटौती तथा रोक्का गर्ने प्रक्रिया अघि बढाइएको छ ।

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा प्रदेशको बजेट करिब ७ अर्ब रुपैयाँसम्म घट्न सक्ने अनुमान गर्दै विभिन्न शीर्षकमा २० देखि शतप्रतिशतसम्म बजेट कटौती तथा केही रकम रोक्का गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।

सामान्य सवारीसाधन खरिदतर्फको बजेट रोक्का गरिए पनि अति विशिष्ट व्यक्तिका लागि विनियोजित रकम भने रोक्का नगरिएको अर्थ मन्त्रालयको भनाइ छ ।

श्रम तथा यातायात मन्त्रालयका निमित्त सचिव रञ्जित यादवका अनुसार चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार नै सवारीसाधन खरिद प्रक्रिया अघि बढाइएको हो ।

उनका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अति विशिष्ट व्यक्तिका लागि सवारीसाधन खरिद प्रक्रिया अघि बढाउन पत्राचारसमेत भएको थियो ।

‘बजेटमै अति विशिष्ट अतिथिका लागि गाडी खरिद गर्ने व्यवस्था भएकाले प्रक्रिया अघि बढाइएको हो,’ यादवले भने ।

उनका अनुसार खरिद गरिने सवारीसाधन प्रदेशमा आउने राष्ट्रपति, प्रधानमन्त्रीलगायत अति विशिष्ट व्यक्तिको प्रयोगका लागि राखिनेछ ।

प्रदेश सरकारले आर्थिक मितव्ययिता अपनाउने बताउँदै आएको अवस्थामा एउटै सवारीसाधनका लागि ३ करोड ५० लाख रुपैयाँ खर्च गर्ने तयारी भएपछि यसको खर्च औचित्यमाथि प्रश्न उठेको छ ।

प्रदेशको बजेटमा दबाब देखिएको र विभिन्न शीर्षकमा खर्च कटौती तथा रोक्का भइरहेका बेला महँगो सवारीसाधन खरिदलाई निरन्तरता दिइनुले सरकारको खर्च प्राथमिकताबारे बहस सिर्जना गरेको छ ।