पर्सा, ०५ असोज । पर्सामा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर ३३ किलो लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

पटेर्वासुगौली गाउँपालिका–१ स्थित मलाही टोलमा अवैध गाँजाको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी टोली पुगेको थियो ।

प्रहरी टोलीले जाँच अघि बढाउने क्रममा गाँजा बोकेका व्यक्तिहरू भाग्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा नन्दलाल सहनी, महेश सहनी र भुटी सहनी रहेका छन् । उनीहरूको साथबाट ३३ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई हिरासतमा राखेर लागुऔषध कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।