अमरेश सिंहले छठपछि जनकपुरधामबाट मेची–महाकाली पदयात्रा गर्ने
जनकपुरधाम, ०४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश सिंहले छठ पर्वपछि जनकपुरधामबाट मेची–महाकाली पदयात्रा सुरु गर्ने घोषणा गरेका छन् ।
आइतबार जनकपुरधाममा सञ्चारकर्मीसँगको भेटघाटमा सिंहले छठको पारनका दिन गंगासागरमा अर्घ्य दिएपछि पदयात्रा सुरु गर्ने जानकारी दिएका हुन् ।
उनका अनुसार पदयात्राको उद्देश्य जनतासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, आवश्यकता र अपेक्षा बुझ्नु तथा समाजलाई जोड्नु हो ।
पदयात्राका क्रममा आफूले कम बोल्ने र जनताको कुरा बढी सुन्ने उनले बताए ।
सिंहले दैनिक करिब पाँच घण्टा हिँड्ने र सात घण्टा जनतासँग संवाद गर्ने योजना रहेको जानकारी दिए ।
जनकपुरधामबाट गाग्रोमा माटो र पानी लिएर सुरु हुने पदयात्रा माघे सङ्क्रान्तिका दिन महाकाली नदीमा जौ र तिल विसर्जन गर्दै समापन गर्ने उनको भनाइ छ ।
मधेशका प्रमुख आवश्यकता शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, सुरक्षा र सरसफाइ रहेको उल्लेख गर्दै सिंहले पदयात्राका क्रममा यी विषयमा जनताका धारणा बुझ्ने बताए ।
उनले वर्तमान सरकारले मधेशलाई अपेक्षाअनुसार प्राथमिकता नदिएको आरोपसमेत लगाए ।
आफूले सरकारका कमीकमजोरीबारे आवाज उठाउँदै सुधारका लागि दबाब दिइरहेको सिंहको भनाइ थियो ।


