सिरहा, ०५ असोज । सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समुदायविरुद्ध आधारहीन, भ्रामक तथा धम्कीपूर्ण सामग्री प्रकाशन गरी सामाजिक शान्ति खलल पार्न खोजेको आरोपमा सिरहाका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका–२४ का मनोज कुमार महतो ‘मनोज मानव’ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरीका अनुसार महतोले लामो समयदेखि उद्योगी, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, राजनीतिक नेता तथा राष्ट्रसेवक कर्मचारीलगायत विभिन्न व्यक्तिविरुद्ध प्रमाण र आधारबिनाका सामग्री सामाजिक सञ्जालमा पोस्ट गर्दै आएको आरोप छ ।

त्यस्ता सामग्रीबाट व्यक्तिको चरित्रहत्या गर्नुका साथै सामाजिक सद्भाव र शान्तिमा समेत असर पार्ने गतिविधि गरेको प्रहरीको दाबी छ ।

प्रहरीमा परेको जाहेरीका आधारमा साइबर अपराध तथा सार्वजनिक शान्ति खलल पार्न नहुनेसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी पक्राउ पुर्जी जारी गरिएको थियो ।

सोही पुर्जीका आधारमा खोजी गर्ने क्रममा महतोलाई उदयपुरको चतरा पुलपारि एक होटलमा लुकिछिपी बसेको अवस्थामा असोज ४ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उदयपुर प्रहरीको सहयोगमा पक्राउ गरिएका महतोमाथि अहिले थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।

प्रहरीका अनुसार महतोले आफूसँग स्वचालित हतियार रहेको र आफू पूर्व ‘जनतान्त्रिक’ लडाकु भएको भन्दै केही व्यक्तिलाई धम्की दिएको तथा हतियारको तस्वीर पठाएर आपराधिक लाभसमेत लिएको सूचना प्राप्त भएको छ ।

यस घटनासँग सम्बन्धित भएर महतोबाट पीडित भएको वा कुनै किसिमको धम्की तथा आपराधिक लाभसम्बन्धी गतिविधिमा परेको भए जिल्ला प्रहरी कार्यालय सिरहामा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।