बजेट विनियोजन र योजना सञ्चालन वातावरणमैत्री बनाउनुपर्नेमा जोड
जनकपुरधाम, ०४ असोज । मधेश प्रदेशका सभामुख रामाशिष यादवले बजेट विनियोजन र विकास आयोजना सञ्चालन गर्दा सामाजिक, आर्थिक तथा वातावरणीय पक्षलाई समान रूपमा प्राथमिकता दिनुपर्ने बताएका छन् ।
जनकपुरधाममा आयोजित ‘मधेश प्रदेश वित्तीय संवाद २०८३/८४’ कार्यक्रममा बोल्दै सभामुख यादवले वातावरणीय पक्षलाई बेवास्ता गरी विकास योजना सञ्चालन गर्दा त्यसले सामाजिक तथा आर्थिक क्षेत्रमा समेत नकारात्मक प्रभाव पार्न सक्ने बताए ।
उनले हालैको भोटेकोशी बाढीले विपद्का बेला वातावरणीय पक्षलाई बेवास्ता गर्दा ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था देखाएको उल्लेख गर्दै विकास निर्माणका योजना वातावरणमैत्री हुनुपर्नेमा जोड दिए ।
सभामुख यादवका अनुसार प्रदेश तथा स्थानीय तहमा संघीय बजेटको सीमित हिस्सा मात्र आउने गरेको छ । त्यही स्रोतबाट नागरिकका आधारभूत आवश्यकतासँग सम्बन्धित साना तथा मझौला विकास आयोजना सञ्चालन हुँदै आएका छन् ।
उनले प्रदेशमा विनियोजन हुने विकास बजेटको खर्चसमेत अपेक्षाकृत न्यून रहेको उल्लेख गर्दै विकासको गति बढाउन प्रदेशका लागि बजेट विनियोजन थप न्यायोचित र प्रभावकारी बनाउनुपर्ने धारणा राखे ।
कार्यक्रममा मधेश प्रदेश नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा. सोहन साहले विकास योजनाको प्रभाव बढाउन एक योजनामा कम्तीमा एक करोड रुपैयाँभन्दा कम विकास बजेट विनियोजन गर्न नहुने बताए ।
कार्यक्रममा नीति तथा योजना आयोगका सदस्य नवल यादव, एक्सन एडका प्रतिनिधि देवेन्द्र प्रसाद सिंह तथा रतौली युवा क्लबका कार्यकारी निर्देशक वैद्यनाथ चौधरीलगायतले बजेट विनियोजनमा सामाजिक न्यायलाई प्राथमिकता दिनुपर्ने र सार्वजनिक खर्चमा वित्तीय अनुशासन कायम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रम रतौली युवा क्लबका अध्यक्ष मोहम्मद समीर खानको अध्यक्षतामा सम्पन्न भएको थियो ।


