सिरहा, ०४ असोज । सिरहाको लहानस्थित एक निजी विद्यालयमा छात्रावासबाट भागेको आरोपमा ११ वर्षीय विद्यार्थीमाथि कुटपिट गरिएको घटना सार्वजनिक भएको छ ।

लहान–४ स्थित इन्द्रेणी स्कुलमा अध्ययनरत ती विद्यार्थीलाई छात्रावासबाट पटकपटक भागेको भन्दै विद्यालयका शिक्षकले कुटपिट गरेको परिवारले जनाएको छ । विद्यार्थी सप्तरीको बलानबिहुल गाउँपालिका–४ का हुन् ।

विद्यालयका संस्थापक देवेन्द्र साहले विद्यार्थी यसअघि पनि छात्रावासबाट भाग्ने गरेको र पछिल्लो पटक प्रहरीले फेला पारेपछि विद्यालयमा ल्याइएको बताए । त्यसपछि विद्यार्थीलाई सामान्य रूपमा तर्साउन एक–दुई लट्ठीले कुटेको उनले स्वीकार गरेका छन् ।

तर, विद्यार्थीका अभिभावकले भने बालकमाथि निर्घात कुटपिट गर्नुका साथै बाँधेर राखिएको आरोप लगाएका छन् । विद्यार्थीले आफूलाई बाँधेर घोप्टो पारेर फलामे छड र प्लास्टिकको पाइपले कुटिएको बताएका छन् ।

घटनापछि परिवारले बालकलाई घरमा लगेर उपचार गराइरहेको छ । यस घटनापछि सिरहाका निजी विद्यालयमा अनुशासनका नाममा विद्यार्थीमाथि हुने कुटपिट तथा यातनाको विषय फेरि चर्चामा आएको छ ।

अधिकारकर्मीहरूले विद्यालयमा बालबालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसा रोक्न प्रभावकारी निगरानी र कारबाही आवश्यक रहेको बताएका छन् ।

अधिकारकर्मीहरूका अनुसार यस्ता घटना कतिपय अवस्थामा विद्यालय, अभिभावक र अन्य पक्षबीच आर्थिक लेनदेन वा आपसी सहमतिमा मिलाउने प्रयास हुने गरेका छन् ।

यसले बालबालिकामाथि हुने हिंसाका घटना बाहिर आउन नसक्ने अवस्था रहेको उनीहरूको भनाइ छ ।