जनकपुरधाम, ०५ असोज । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत प्रादेशिक अस्पताल जनकपुरधामको बर्थिङ सेन्टरमा चिकित्सकमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका–२ का २० वर्षीय विजय मुखिया र जनकपुरधाम उपमहानगरपालिका–८ की २६ वर्षीया सुधिरा मुखिया बिन रहेका छन् ।

प्रहरीका अनुसार २०८३ असोज १ गते साँझ करिब साढे ६ बजे बर्थिङका लागि अस्पताल आएकी महिलाका आफन्तहरूले अस्पतालमा कार्यरत चिकित्सक डा. सरोज साहमाथि हातपात गरेका थिए ।

घटनाको सूचना पाएलगत्तै खटिएको प्रहरी टोलीले घटनामा संलग्न उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई धनुषा जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीले उनीहरूमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ को दफा ३(ग) अन्तर्गतको कसूरमा अनुसन्धान भइरहेको जनाएको छ ।

घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत पहिचान तथा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन् ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनअनुसार यस्तो कसूर पुष्टि भएमा दोषीलाई तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ ।