जनकपुरधाम, ०४ असोज । जनकपुरधाम उपमहानगरपालिका–८ स्थित रामानन्द चोकमा घरमा अचानक आगलागी हुँदा एक पूर्व शिक्षकको जलेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–२ का ७० वर्षीय किशोरी सहनी रहेको प्रहरीले जनाएको छ । सहनी घरभित्र रहेका बेला अचानक आगलागी भएको बताइएको छ ।

आगलागीका क्रममा सहनीसँगै रहेकी उनकी नातिनी भने घरबाट बाहिर निस्केर ज्यान जोगाउन सफल भएकी छन् । आगलागीबाट घरमा समेत क्षति पुगेको छ ।

घटनाको सूचना पाएलगत्तै प्रहरी तथा दमकल टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो । आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।

आगलागीको कारण तथा भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।