जनकपुरधाम, ०३ असोज । संविधान संशोधनको माग गर्दै यूथ एसोसिएसन अफ नेपाल (यान) ले असोज ३ अर्थात् संविधान दिवसको अवसरमा काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सहभागीहरूले संविधानले सबै समुदायका माग र पहिचानलाई पूर्ण रूपमा सम्बोधन गर्न नसकेको भन्दै संशोधनको माग गरेका थिए ।

उनीहरूले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न तथा मधेशका माग सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।

प्रदर्शनकारीहरूले हातमा विभिन्न माग लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए । उनीहरूले टाउकोमा कालोपट्टीसमेत बाँधेर प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा ‘बहुसंख्यक जनताको पहिचानसहितको संविधान स्थापित नभएसम्म असोज ३ हाम्रो लागि कालो दिन रहिरहनेछ’ भन्ने सन्देश लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो ।

यानले संविधान संशोधनमार्फत विद्यमान असन्तुष्टिहरू सम्बोधन गर्नुपर्ने, मधेशसहित विभिन्न समुदायका मागलाई संवैधानिक रूपमा सम्बोधन गर्नुपर्ने तथा विगतका आन्दोलनसँग सम्बन्धित प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग अघि सारेको छ ।

माइतीघरमा भएको प्रदर्शनमा युवाहरूको सहभागिता रहेको थियो ।

संविधान दिवसका अवसरमा राज्यस्तरमा विभिन्न कार्यक्रम भइरहेका बेला यानले भने संविधानप्रति असन्तुष्टि जनाउँदै विरोध कार्यक्रम गरेको हो ।