जनकपुरधाम, ०३ असोज । आमसञ्चार प्राधिकरण मधेश प्रदेशले प्रदेशका विभिन्न जिल्लाका सञ्चारकर्मी तथा नेपाल पत्रकार महासंघका पदाधिकारीसँग छलफललाई निरन्तरता दिएको छ ।

प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गा तथा सदस्य ज्योती झासहितको टोलीले प्राधिकरणको आगामी योजना, बजेट, कर्मचारीको अवस्था तथा स्थानीय सञ्चार संस्थाले भोगिरहेका समस्या र प्राधिकरणसँगका अपेक्षाबारे जिल्लाका पत्रकार तथा महासंघका पदाधिकारीसँग छलफल गरेको हो ।

छलफलका क्रममा रौतहटमा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्षसहित पत्रकारसँग चन्द्रनिगाहपुरमा अन्तरक्रिया गरिएको थियो ।

त्यसैगरी पर्सामा जिल्ला अध्यक्ष तथा मधेश प्रदेश अध्यक्षसहितको टोलीसँग वीरगञ्जमा छलफल गरिएको प्राधिकरणले जनाएको छ ।

बारामा भने नेपाल पत्रकार महासंघका सचिवलगायत पत्रकारसँग बडहडवामा छलफल गरिएको थियो ।

छलफलमा जिल्लामा सञ्चार क्षेत्रले भोग्दै आएका समस्या, स्थानीय सञ्चारमाध्यमको अवस्था, पत्रकारका आवश्यकता तथा आगामी दिनमा प्राधिकरणले सञ्चालन गर्नुपर्ने कार्यक्रमका विषयमा सुझाव संकलन गरिएको थियो ।

प्राधिकरणले प्रदेशका सबै जिल्लाका सञ्चारकर्मी र सञ्चार संस्थासँग प्रत्यक्ष संवाद गरी उनीहरूको आवश्यकता तथा समस्याका आधारमा आगामी योजना र कार्यक्रम तय गर्ने उद्देश्यले जिल्ला भ्रमण तथा छलफललाई अघि बढाएको जनाएको छ ।

यसअघि गत साता प्राधिकरणको टोलीले सप्तरी र सिरहाका पत्रकार तथा नेपाल पत्रकार महासंघका पदाधिकारीसँग पनि छलफल गरेको थियो ।