जनकपुरधाम, ०३ असोज । सिरहामा सशस्त्र प्रहरीका एक अधिकारीमाथि ज्यान मार्ने प्रयास गरेको आरोपमा फरार रहेका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहारस्थित मधुबनी जिल्लाका ३७ वर्षीय मोहम्मद कुर्बान मंसुरी रहेका छन् ।

उनी घटनामा प्रयोग भएको टाटा सफारीका धनी तथा चालकसमेत रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार २०८१ माघ १६ गते बिहान सिरहाको बरियारपट्टी गाउँपालिका–२ कचनारीस्थित नेपाल–भारत सीमा क्षेत्रमा मदिरा तस्करी भइरहेको सूचनाका आधारमा प्रहरी टोलीले एउटा टाटा सफारी रोकेर जाँच गर्न खोजेको थियो ।

त्यसक्रममा गाडीमा रहेका व्यक्तिहरूले ड्युटीमा खटिएका सशस्त्र प्रहरी नायब निरीक्षक लक्ष्मणप्रसाद यादवलाई गाडीले ठक्कर दिई ज्यान मार्ने प्रयास गरेको प्रहरीको भनाइ छ । घटनापछि उनीहरू फरार भएका थिए ।

फरारमध्ये मुख्य अभियुक्त मंसुरीलाई असोज ३ गते साँझ बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमा नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा मंसुरीसहित तीन जनाले प्रहरी टोलीतर्फ एक राउन्ड गोली चलाएका थिए । त्यसपछि प्रहरीले जवाफी कारबाही गर्दा तीन राउन्ड गोली चलाएको थियो ।

जवाफी कारबाहीमा मंसुरीको बायाँ हातको कुहिना र दाहिने खुट्टाको घुँडामा गोली लागेको प्रहरीले जनाएको छ ।

घाइते अवस्थामा उनलाई नियन्त्रणमा लिएर उपचारका लागि प्रादेशिक अस्पताल सिरहामा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।