सप्तरी, ०४ असोज । सप्तरीको डाक्नेश्वरी नगरपालिकाबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

डाक्नेश्वरी नगरपालिका–६ कटैया गाउँस्थित भोला सदाको घरमा गएराति करिब पौने १ बजे खानतलासी गर्दा ५६ वटा बोरामा प्याक गरिएको अवस्थामा करिब १ हजार ४ सय किलोग्राम गाँजा बरामद भएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले सदाको घरमा खानतलासी गरेको थियो। बरामद गाँजासहित पक्राउ परेका सदालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी लगिएको प्रहरीले जनाएको छ ।

कटैया गाउँ भारतसँगको सीमावर्ती क्षेत्रमा पर्ने भएकाले बरामद गाँजा भारततर्फ लैजानका लागि भण्डारण गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक आशंका छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।