बारा, ०३ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ ।

शनिबार साँझ करिब ५ बजे मेनरोडस्थित सम्झना स्टाफ होटलमा भएको घटनामा स्थानीय ३५ वर्षीय शेरबहादुर खड्काको मृत्यु भएको हो ।

प्रहरीका अनुसार खाजा खान होटल पुगेका केही व्यक्तिबीच विवाद भएपछि होटलको भान्सामा रहेको चक्कु प्रहार गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

चक्कु प्रहारबाट खड्काको घाँटीमा गम्भीर चोट लागेको थियो ।

घाइते खड्कालाई उपचारका लागि वीरगञ्ज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

उनका अनुसार घटनामा संलग्न व्यक्तिहरू फरार छन् ।

प्रहरीले उनीहरूको खोजी तथा घटनाको थप अनुसन्धान अघि बढाएको छ ।