सिमरा हत्या प्रकरणमा मुख्य अभियुक्तसहित ६ पक्राउ
बारा, ०४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ मा चक्कुले घाँटी रेटेर एक युवकको हत्या गरेको घटनामा प्रहरीले मुख्य अभियुक्तसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।
हत्यामा संलग्न रहेको आरोपमा आयुश राईलाई पक्राउ गरिएको हो । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले थप पाँच जनालाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए ।
शनिबार साँझ जीतपुरसिमरा–२ स्थित नेपाल केवल नजिकैको सम्झना स्टाफ होटलमा खाजा खाइरहेका करिब ३५ वर्षीय शेरबहादुर खड्कामाथि राईले भान्साबाट चक्कु ल्याएर आक्रमण गरेको प्रहरीले जनाएको छ ।
चक्कु प्रहारबाट घाँटीमा गम्भीर चोट लागेका खड्कालाई तत्काल जीतपुरसिमरा नगर अस्पताल हुँदै वीरगञ्जस्थित बयोधा अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्याएपछि चिकित्सकले जाँच गर्ने क्रममा उनलाई मृत घोषणा गरेका थिए ।
घटनापछि राई पश्चिमतर्फको जंगल हुँदै भागेका थिए । राजमार्गमा निस्किएपछि अटो चढेर जीतपुरसिमरा–१६ महेन्द्रनगरस्थित आफन्तको घर पुगेका राईलाई इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको नेतृत्वमा खटिएको टोलीले खोजी गर्ने क्रममा धान खेतबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राई मदिरा सेवन गरी अन्य तीन जनासँग होटल पुगेका थिए । खड्कासँग विवाद भएपछि राईले भान्साबाट चक्कु ल्याएर आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनालगत्तै राईसहित दुई जना फरार भएका थिए भने अन्य दुई जना घाइते खड्कालाई लिएर अस्पताल पुगेका थिए । अस्पताल पुगेका दुई जनालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएर सोधपुछ थालेको थियो ।
घटनामा संलग्न सबैलाई नियन्त्रणमा लिइसकेकाले पीडित परिवारको जाहेरी लिएर थप अनुसन्धान अघि बढाइने प्रहरी उपरीक्षक कुँवरले बताए ।


