‘सरसफाइ अभियानले नभई नियमित व्यवस्थापनले वडा सफा हुन्छ’
जनकपुरधाम, ०३ असोज । जनकपुरधाम उपमहानगरपालिका–४ मा सरसफाइको जिम्मेवारी स्थानीय बालबालिकाले नै सम्हाल्नुपर्ने अवस्था देखिएको भन्दै स्थानीय युवा कौशल मिश्रले नियमित तथा प्रभावकारी सरसफाइ व्यवस्थापनमा स्थानीय सरकारको ध्यान जानुपर्ने बताएका छन् ।
वडामै रहेको डीएम सेकेन्ड्री इङ्गिलश बोर्डिङ स्कुलका विद्यार्थीहरू सडक तथा सार्वजनिक क्षेत्रमा सरसफाइ गर्दै गरेको दृश्यले स्थानीय तहको सरसफाइ व्यवस्थापनमाथि प्रश्न उठाएको मिश्रको भनाइ छ ।
विद्यार्थीहरूले आफ्नो वरपरको वातावरण सफा राख्न गरेको प्रयास सकारात्मक भए पनि नियमित सरसफाइको जिम्मेवारी नै बालबालिकामाथि पर्नु चिन्ताको विषय भएको उनले बताए ।
मिश्रले बालबालिकाको हातमा किताब, कापी र कलम हुनुपर्नेमा झाडु देखिनु स्थानीय सरकारको सरसफाइ व्यवस्थापनप्रतिको गम्भीर प्रश्न भएको बताए ।
उनका अनुसार विद्यार्थीमा सरसफाइप्रतिको चेतना विकास गर्नु आवश्यक भए पनि सडक, नाला तथा सार्वजनिक क्षेत्रको नियमित सरसफाइ गर्नु स्थानीय तहको आधारभूत जिम्मेवारीभित्र पर्छ ।
‘बालबालिकाले सरसफाइ गर्नु आफैंमा नराम्रो होइन, यसले उनीहरूमा जिम्मेवारीबोध र सामाजिक चेतना विकास गर्छ,’ मिश्रले भने, ‘तर, स्थानीय सरकारले गर्नुपर्ने नियमित सरसफाइको काम विद्यार्थीले गर्नुपर्ने अवस्था आउनुचाहिँ सोचनीय विषय हो ।’
उनले वडा कार्यालयले सरसफाइका लागि छुट्याएको बजेटको प्रभावकारी कार्यान्वयन, नियमित सफाइको व्यवस्था तथा सार्वजनिक स्थानको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताए ।
जनताको करबाट सञ्चालन हुने स्थानीय सरकारले नागरिकलाई स्वच्छ र सफा वातावरण उपलब्ध गराउनु आफ्नो प्राथमिक जिम्मेवारीका रूपमा लिनुपर्ने उनको भनाइ छ ।
मिश्रले वडामा देखिने फोहोर व्यवस्थापनको समस्या समाधान गर्न तत्कालीन रूपमा अभियान सञ्चालन गर्नुका साथै दीर्घकालीन रूपमा नियमित सरसफाइको प्रणाली विकास गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
उनका अनुसार सडक, गल्ली, नाला तथा सार्वजनिक स्थानको नियमित अनुगमन र सफाइका लागि स्पष्ट कार्यतालिका बनाउन आवश्यक छ ।
स्थानीय बालबालिकाले सरसफाइ अभियानमा सहभागिता जनाउनु सकारात्मक सन्देश भए पनि त्यसलाई स्थानीय सरकारको नियमित जिम्मेवारीको विकल्पका रूपमा लिन नहुने मिश्रले बताए ।
उनले विद्यार्थीहरूको सहभागितालाई वातावरणीय चेतना अभिवृद्धिसँग जोड्दै विद्यालयस्तरबाटै सरसफाइ र वातावरण संरक्षणसम्बन्धी व्यवहारिक शिक्षा दिनुपर्नेमा जोड दिएका छन् ।
‘हामीलाई भाषणभन्दा सफा वडा चाहिएको छ,’ मिश्रले भने, ‘फोटो खिच्ने कार्यक्रमभन्दा नियमित र प्रभावकारी सरसफाइ व्यवस्था आवश्यक छ ।’
जनकपुरधाम–४ लाई सफा, सुन्दर, हरियाली र व्यवस्थित वडा बनाउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै मिश्रले सरसफाइलाई अभियानका रूपमा मात्र नभई नियमित सेवाका रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।
उनले सार्वजनिक स्थानमा फोहोर फाल्ने प्रवृत्ति नियन्त्रणसँगै फोहोर संकलन, वर्गीकरण र व्यवस्थापनका लागि प्रभावकारी प्रणाली विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
साथै, स्थानीय सरकार, विद्यालय, टोल विकास संस्था र स्थानीय बासिन्दाबीच सहकार्य भएमा वडाको सरसफाइ व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सकिने उनको भनाइ छ ।
मिश्रका अनुसार बालबालिकाले सरसफाइमा देखाएको सक्रियतालाई प्रोत्साहन गर्नुपर्छ, तर उनीहरूको मुख्य समय शिक्षा, सिर्जनशीलता र भविष्य निर्माणमा केन्द्रित हुनुपर्छ । ‘बालबालिकाको हातमा झाडु नभई किताब र भविष्यको सपना सुहाउँछ,’ उनले भने ।
जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा सरसफाइ तथा फोहोर व्यवस्थापनको विषय लामो समयदेखि स्थानीय चासोको विषय रहँदै आएको छ ।
यस्तो अवस्थामा वडा तहबाटै नियमित सरसफाइ, फोहोर व्यवस्थापन र सार्वजनिक स्थान संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने मिश्रको धारणा छ ।


