रौतहट, ०३ असोज । रौतहटको सदरमुकाम गौरस्थित भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन् ।

शुक्रबार अपराह्न गौर नगरपालिका–१ स्थित गौर भन्सार कार्यालय अगाडि गरिएको संयुक्त चेकजाँचका क्रममा भारतबाट नेपाल प्रवेश गर्दै गरेको बीआर ०६ एआर ०८०२ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा माधवनारायण नगरपालिका–७, लौकाहाका २६ वर्षीय सञ्जिव पण्डित र १८ वर्षीय रितिक दास रहेका छन् ।

उनीहरूको साथबाट स्रोत नखुलेको नेपाली नगद २ लाख ५४ हजार रुपैयाँ, चाँदीजस्तो देखिने दुई थान पायल, दुई थान मोबाइल फोन तथा मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी वसन्त गौतमले जानकारी दिए ।

भन्सार सुरक्षा गार्डका असई दीपककुमार यादवको नेतृत्वमा तीन जना तथा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गौरका सशस्त्र प्रहरी नायब उपरीक्षक दुर्गाप्रसाद भट्टको नेतृत्वमा सात जनाको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उनीहरूलाई रकमसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनासहित बरामद नगद, सामान र मोटरसाइकललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि रौतहट भन्सार कार्यालयमा बुझाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।