सिरहा, ०३ असोज । सिरहाको नरहा गाउँपालिकामा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एक साइकलयात्री घाइते भएका छन् ।

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत नरहा गाउँपालिका–३ रोजी मेडिकलनजिक ट्रकको ठक्करबाट स्थानीय करिब ५० वर्षीय रामपृत मण्डलको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा सोही स्थानका करिब ४५ वर्षीय राजातुल अन्सारी घाइते भएका छन् । अन्सारी साइकलमा सवार रहेको जनाइएको छ ।

दुर्घटनापछि घाइते अन्सारीको उपचार भइरहेको छ ।

घटनाबारे थप विवरण तथा दुर्घटनामा संलग्न ट्रक र चालकसम्बन्धी जानकारी प्रहरीले संकलन गरिरहेको जनाएको छ ।