जनकपुरधाम, ०३ असोज । मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कर्णले नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त संविधानलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भका रूपमा व्याख्या गरेका छन् ।

उनले संविधानले सुनिश्चित गरेका अधिकार, लोकतान्त्रिक मूल्य–मान्यता र व्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका छन् । संविधानको भावना र उद्देश्यअनुसार राज्यका सबै तह र पक्ष अघि बढ्नुपर्नेमा उनको जोड छ ।

प्रदेश प्रमुख कर्णले संविधानको प्रभावकारी कार्यान्वयनसँगै सुशासन, राष्ट्रिय एकता र सामाजिक सद्भाव सुदृढ गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।

संविधान दिवसले संविधानको रक्षा, कार्यान्वयन र लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत गर्न सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उनले दिवसका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।