नापजाँचको ९ वर्षपछि क्षिरेश्वरनाथका २४२ परिवारले पाए लालपुर्जा
जनकपुरधाम, ०३ असोज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेका छन् ।
साविक रमदैया भवाडी गाविसका वडा नम्बर १, ५ र ९ मा लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय परिवारलाई नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो ।
उक्त क्षेत्रको नापजाँच तथा नापनक्साको काम २०७४ सालमै सम्पन्न भएको थियो । तर, नापजाँच सकिए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा स्थानीयले वर्षौँसम्म लालपुर्जा पाउन सकेका थिएनन् ।
लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेपछि अहिले २४२ परिवारले आफ्नो नाममा जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेका हुन् ।
लालपुर्जा पाएसँगै स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारको जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा स्थापित भएको छ ।
जग्गाधनी प्रमाण पुर्जा प्राप्त भएपछि स्थानीयलाई जग्गा किनबेच, बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन तथा भूमिसम्बन्धी विवाद निरुपण गर्नसमेत सहज हुने विश्वास गरिएको छ ।
यसअघि धनुषामा विभिन्न स्थानका ४ हजार ३ सय ५४ परिवारले जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरिसकेका छन् ।


