असोज ३ लाई ‘कालो दिन’ भन्दै तमलोपाको विरोध
जनकपुरधाम, ०३ असोज । तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले २०७२ साल असोज ३ गते जारी गरिएको संविधानप्रति असन्तुष्टि जनाउँदै असोज ३ लाई ‘कालो दिन’का रूपमा स्मरण गरेको छ ।
पार्टीले मधेश आन्दोलनका क्रममा तथा संविधान जारी गर्ने क्रममा मधेशी र थारुमाथि राज्य पक्षबाट भएको दमनलाई नेपालको इतिहासको ‘कालो पाना’को संज्ञा दिँदै शनिबार जनकपुरधामस्थित जनकचोकमा विरोध प्रदर्शन गरेको छ ।
असोज ३ को अवसरमा जारी गरिएको पार्टीको धारणा सार्वजनिक गर्दै तमलोपाले आन्दोलनमा ज्यान गुमाएका शहीद तथा सहभागी आन्दोलनकारीप्रति सम्मान व्यक्त गरेको हो ।
तमलोपाका केन्द्रीय सदस्य उमेश कुमार मण्डलले संविधान जारी भएको दिनलाई उत्सवका रूपमा नभई मधेशी, थारु लगायतका समुदायले भोगेको विभेद, दमन र अधिकारको संघर्ष सम्झने दिनका रूपमा लिनुपर्ने बताए ।
‘मधेश आन्दोलनका क्रममा राज्यबाट भएको दमन र असोज ३ गते संविधान जारी गर्दाको परिस्थितिलाई मधेशले अझै बिर्सेको छैन । त्यसैले असोज ३ मधेशका लागि उत्सवको दिन नभई अधिकारका लागि बलिदान दिएका शहीद र आन्दोलनकारीलाई सम्झिने दिन हो,’ मण्डलले भने ।

उनले आन्दोलनका क्रममा उठाइएका माग तथा संविधानमा रहेका असमानतासम्बन्धी प्रश्नको सम्बोधन नगरी मुलुकमा स्थायी राजनीतिक सहमति र सामाजिक न्याय कायम हुन नसक्ने धारणा व्यक्त गरे ।
मण्डलले शहीदहरूको बलिदान र आन्दोलनकारीको योगदानलाई सम्मान गर्दै राज्यले विगतका आन्दोलनमा भएका दमनका घटनाको निष्पक्ष समीक्षा गर्नुपर्नेमा जोड दिए । साथै मधेशी, थारु लगायतका समुदायले उठाउँदै आएका अधिकार र प्रतिनिधित्वका सवाललाई राजनीतिक संवादमार्फत सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।
तमलोपाले असोज ३ लाई ‘कालो दिन’का रूपमा स्मरण गर्दै मधेश आन्दोलनमा शहादत प्राप्त गरेका सम्पूर्ण शहीद तथा आन्दोलनकारीप्रति सम्मान व्यक्त गरेको छ भने विगतमा भएको दमनको विरोध गरेको जनाएको छ ।


